सामान्यतया मस्तिष्कघातका बिरामीको अस्पतालमा आवश्यकता अनुसार शल्यक्रिया गरिन्छ, औषधि दिइन्छ र घर पठाइन्छ।
मस्तिष्कघातका कारण प्रभावित शरीरका अंगलाई पुनः पहिलेकै अवस्थामा फर्काउन भने नियमित अभ्यास आवश्यक पर्छ। यसका लागि पुनः स्थापना केन्द्र र दक्ष फिजियोथेरापिस्टको सेवा चाहिन्छ।
नेपालमा यस्ता पूर्वाधार र सेवा पर्याप्त छैनन्।
यही समस्या ध्यानमा राखेर गोविन्दमणि नेपालले घरमै बसेर गर्न सकिने 'मस्तिष्कघात पुनः स्थापना व्यायाम प्रोटोकल' तयार पारेका छन्।
नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा मस्तिष्कघात सम्बन्धी विषयमा विद्यावारिधि (पिएचडी) गरिरहेका उनले यो प्रोटोकल विकास गरेका हुन्।
यो प्रोटोकल नेपालकै लागि लक्षित रहेको गोविन्द बताउँछन्। बिरामीले मोबाइल एपमार्फत सहजै प्रयोग गर्न सक्ने गरी यसलाई उपलब्ध गराउने उनको योजना छ।
'प्रोटोकल तयार भइसकेको छ। एप निर्माणका लागि केही कानुनी प्रक्रिया पूरा गर्नुपर्छ,' उनी भन्छन्, 'त्यसका लागि थेसिस सकेर म नेपाल आउँदै छु।'
गोविन्दका अनुसार प्रोटोकलमा ३९ वटा विशेष व्यायाम विधि समावेश छन्। बिरामीले ती विधिबारे लिखित सामग्री, तस्बिर र भिडिओमार्फत जानकारी पाउनेछन्।
हातखुट्टाको कार्यक्षमता फर्काउने, शरीरको सन्तुलन कायम गर्ने, पक्षाघातका कारण कमजोर भएका अंग बलियो बनाउनेदेखि दैनिक क्रियाकलाप र आफ्नै स्वास्थ्य व्यवस्थापन (सेल्फ म्यानेजमेन्ट) का उपायसम्म प्रोटोकलमा समेटिएका छन्।

झापाको किसान परिवारमा जन्मिएका गोविन्द आठ दाजुभाइ र ६ दिदीबहिनीमध्ये सबैभन्दा कान्छा हुन्। आमाको चाहनाकै कारण घरमा उनले मात्र निजी स्कुलमा पढ्ने अवसर पाए।
'दाइदिदीहरूले सबै काम गर्नुहुन्थ्यो। मेरो काम पढ्ने मात्रै थियो,' उनी बाल्यकाल सम्झिन्छन्।
एसएलसीपछि उनी विज्ञान विषय पढ्न काठमाडौं आए र न्यू समिट कलेजमा भर्ना भए। कक्षा १२ पूरा गरेपछि उनको लक्ष्य एमबिबिएस पढ्ने थियो। त्यसका लागि तयारी गरे पनि पहिलो प्रयास सफल भएन।
दोस्रो पटक सरकारी कोटामा पढ्न एक नम्बरले पछि परे। त्यसपछि उनको पढाइमा एक वर्षको अन्तराल आयो।
त्यही समयमा उनले फिजियोथेरापी पढ्ने निर्णय गरे। सन् २००५ मा बैंगलुरू गएर पद्मश्री इन्स्टिच्युट अफ फिजियोथेरापीमा भर्ना भए। होस्टलमा बसेर साढे चार वर्षको कोर्स पूरा गरे।
फिजियोथेरापीको पढाइ सकेर नेपाल फर्किएपछि उनले मेडिकेयर अस्पताल र बौद्धस्थित स्तुप कम्युनिटी अस्पतालमा काम पाए। पछि स्तुप कम्युनिटी अस्पतालमा मात्र गरे। त्यहाँ करिब दुई वर्ष काम गरेर स्नातकोत्तर पढ्न फेरि बैंगलुरूको पद्मश्री इन्स्टिच्युट गए।

दुई वर्ष पढेर नेपाल फर्किएपछि उनको कार्यक्षेत्र बन्यो काठमाडौं विश्वविद्यालय।
गोविन्दका अनुसार सन् २०१३ मा काठमाडौं विश्वविद्यालयमा न्युरोलोजिकल फिजियोथेरापी विषयको लेक्चरर पदका लागि विज्ञापन खुलेको थियो। उक्त पदमा छ जनाले आवेदन दिएका थिए। तीमध्ये गोविन्द छनोट भए।
'अहिले पनि फिजियोथेरापी पढ्नेहरू कम छन्। पहिले त झन् कम थिए,' उनले भने, 'न्युरोलोजिकल फिजियोथेरापी विशिष्ट प्रकृतिको विषय भएकाले यस क्षेत्रमा काम गर्ने जनशक्ति अहिले पनि पर्याप्त छैनन्।'
उनले अस्पतालमा काम गर्ने क्रममा मस्तिष्कघात भएका बिरामीको उपचार र पुनः स्थापनाबारे नजिकबाट बुझ्ने अवसर पाए।
त्यही विषयमा थप अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले उनी तीन वर्षको अध्ययन बिदा लिएर सन् २०२४ मा पिएचडी गर्न नर्वे पुगे।
'अब थेसिस सकेर डिसेम्बरमा नेपाल फर्किने योजना छ। अनि प्रोटोकललाई मोबाइल एपमार्फत प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाउँछु,' उनले भने।