तीन दशकअघि बेल्जियम पुग्दा ब्रह्म वाग्लेको योजना त्यहाँ जीवन बिताउने थिएन।
चितवनमा चलाइरहेको दाल मिल डुबेपछि ऋण तिर्नु थियो। तीन जना छोराछोरी पढाउनु थियो। परिवारको खर्च र जिम्मेवारी पूरा गर्नु थियो।
त्यसैले केही पैसा कमाएर फर्किने सोचले उनी विदेशिएका थिए।
बेल्जियममा एक जना चिनजानका व्यक्ति थिए। उनैले ब्रह्मलाई त्यहाँ एक–दुई वर्ष काम गरे ऋण तिरेर फर्किन सकिने बताएका थिए।
त्यही विश्वासमा उनी बेल्जियम पुगे।
उनले सोचे जस्तो र साथीले सुनाएजस्तो सहज थिएन बेल्जियमको जीवन। नयाँ ठाउँ, नयाँ वातावरण र कामको अनिश्चितता थियो। सुरूआती दिनमा उनलाई निकै कठिन भयो।
'बेल्जियममा त्यति बेला हामी पहिलो पुस्ताका नेपाली थियौं। नेपाली समुदायबीच पनि राम्रो सम्बन्ध स्थापित भइसकेको थिएन,' ब्रह्मले सुनाए, 'नयाँ ठाउँमा जीवन अघि बढाउनै गाह्रो भयो।'
त्यही क्रममा एक जना स्थानीयसँग उनको चिनजान भयो। उनकै खेतीमा ब्रह्मले फिल्ड म्यानेजरको जिम्मेवारी पाए। उनले १० वर्ष त्यहीँ काम गरे।
नेपालमा प्रधानाध्यापक भइसकेका र आफ्नै व्यवसाय चलाएका ब्रह्मका लागि विदेशमा खेतीको काम गर्नु नयाँ अनुभव थियो। तर त्यति बेला उनको प्राथमिकता आफ्नो विगतको हैसियत जोगाउनु थिएन।
'मलाई त्यतिखेर पैसा चाहिएको थियो। बच्चाहरूको भविष्य राम्रो होस् भन्ने सोचेर जस्तो काम पाइन्छ, त्यही गरेँ,' उनले सुनाए।

उनले चितवनमा छोराछोरीलाई निजी स्कुलमा पढाइरहेका थिए।
बेल्जियममा केही वर्ष काम गरेपछि उनले ऋण तिरे। तर त्यसपछि पनि नेपाल फर्किने उनको सोच पूरा भएन। बरू, बेल्जियम पुगेको १० वर्षपछि छोराछोरीलाई आफूसँगै लगे। त्यस बेलासम्म उनको जीवन सहज भइसकेको थियो।
तनहुँमा जन्मेका ब्रह्मको विदेश यात्रा सुरू हुनुअघि जीवनमा धेरै उतारचढाव आयो।
उनी तनहुँको क्यामिन माध्यमिक विद्यालयमा संस्थापक प्रधानाध्यापक थिए। पछि बझाङ र बाजुरा पुगेका उनले स्कुलमा अंग्रेजी पढाए।
बिस्तारै उनको परिवार बढ्दै गयो। आम्दानीले घरखर्च धान्न कठिन हुन थालेपछि उनले व्यवसाय गर्ने सोचे।
चितवनको बेलचोकमा १५ लाख रूपैयाँ जति लगानीमा रहर, मसुरो र कालो दाल प्रशोधन गरेर बेच्ने मिल खोले। त्यो बेला यो ठूलो लगानी थियो। करिब २० जनाले रोजगारी पनि पाएका थिए।
'भारतबाट तयारी दाल सस्तोमा आउन थालेपछि भने मिल चलाएर व्यवसाय गर्न कठिन भयो। भारतीय तयारी दाल कच्चा पदार्थभन्दा पनि सस्तो पर्न थाल्यो,' उनले भने।
चार वर्षमै मिल बन्द गर्नुपर्दा लगानी रकम डुब्यो, घाटा भयो। ब्रह्म आर्थिक संकटमा फसे।
'त्यो बेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो। म पनि पहिले राजनीतिमा सक्रिय भएकाले उहाँसँग राम्रो सम्बन्ध थियो,' उनले सुनाए, 'मैले शेरबहादुरजीलाई म त बिग्रिएँ, विदेश जानुपर्यो भनेको थिएँ। उहाँले जानुपर्दैन भन्नुभएको थियो। तर मेरो विकल्प थिएन।'
ब्रह्म विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसमा आवद्ध थिए। चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा पञ्चायती व्यवस्थाको विरोध गरेकामा दुई–तीन पटक जेलसमेत परेको उनले बताए।
पछि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातक तह पढ्दा पनि जेल परे।
'त्यति बेला रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी लगायत नेताहरूसँगै जेलमा थिएँ,' उनले भने।
त्रिचन्द्रमा नेपाल विद्यार्थी संघको स्थायी कमिटी गठन हुँदा उनी महासचिव थिए। त्यस बेला मिनेन्द्र रिजाल अध्यक्ष भएको उनले बताए।
उनले बिपी कोइरालालाई पनि भेटेका थिए।
'बिपीले मलाई तपाईं पढ्न आउनुभएको छ, फेल हुनुभयो भने बिपीको कारण फेल भएँ भन्ने आरोप लाग्छ, भेट्न नआउनू भन्नुभएको थियो,' उनले सुनाए।
बिपीको कुरापछि विद्यार्थी राजनीति स्थगित नै गरेर उनले पढाइ र कामतिर ध्यान दिए। एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गर्न थाले। पछि स्कुलमा प्रधानाध्यापक भए। दाल मिल खोले।
मिल डुबेपछि सन् १९९३ मा उनी बेल्जियम पुगेका हुन्।

बेल्जियममा सुरूमा खेतमा काम गरे। पछि नगरपालिकामा सहयोगी कर्मचारी भए। केही समयपछि करिब २५ लाख रूपैयाँ लगानीमा नाइट सप खोले। बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म चल्ने पसलमा उनी आफै खटिन्थे।
सन् २००९ मा उनले बेल्जियममा घर पनि जोडे। अहिले उनका तीनै छोराछोरीले उच्च शिक्षा हासिल गरिसकेका छन्। छोराछोरीको भविष्य बनाउन भनेर विदेशिएका ब्रह्मले आफ्नो जिम्मेवारी पूरा भएको महसुस गरेका छन्।
ब्रह्मले सात वर्षअघि आफ्नो नाइट सप बेचे।
'बेल्जियममा ६५ वर्षको भएपछि अवकाश लिन पाइन्छ। श्रीमतीले पनि अवकाश पाइसकेकी छन्। दुवै जनाको पेन्सन आउँछ। बस्न, खान र कहिलेकाहीँ नेपाल आउजाउ गर्न पुग्छ,' ७२ वर्षीय ब्रह्मले सुनाए।
बेल्जियममा वृद्धवृद्धाको हेरचाह व्यवस्था राम्रो भएको उनले बताए।
उनी लेखपढ र घुमफिरमा पनि समय बिताउँछन्। उनलाई नेपाली भाषा र साहित्यमा रूचि छ। दुई वर्षअघि 'उपहार' नामक कविता संग्रह निकालेका थिए। अर्को पनि निकाल्ने तयारीमा छन्।
बेल्जियम बसे पनि ब्रह्मको नेपालसँगको सम्बन्ध टुटेको छैन। आमाबुबा हुँदासम्म उनी वर्षैपिच्छे नेपाल आउँथे। आमाबुबाको निधनपछि पहिले जस्तो नियमित छैन।
'यहाँ सुविधा र सुरक्षा छ। तर जे भए पनि आफ्नो देशको सम्झना नमेटिने रहेछ। जीवनको उत्तरार्द्धमा झन् आफूले छाडेर आएको ठाउँ, बितेका आफन्त र परिवारसँगको दुरी झन् महसुस हुने रहेछ,' ब्रह्मले भने।