गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले देशको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुरकानी गर्दै एनआरएनए अध्यक्ष केसीले नेपालमा लगानीका लागि चुनौती भए पनि देश सम्झेर काम गर्ने बताए।
अहिलेको अवस्थामा विदेशी लगानी आउन अप्ठ्यारो हुने भन्दै केसीले यस्तो बेला गैरआवासीय नेपाली (एनआएन) ले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो आफ्नै कार्यालय जलाइएको छ। हाम्रा संस्थापक अध्यक्ष उपेन्द्र महतोको घर जलाइएको छ। यसले लगानीको सुरक्षामाथी प्रश्न उठेको छ,’ केसीले भने,’ अब पुरानो अवस्थामा फर्किन पनि ४–५ वर्ष लाग्न सक्छ। त्यसैले संसारभरि रहेका एनआरएनले देशको माटो सम्झेर लगानी गर्नेछन्।’
विदेशी लगानीकर्तालाई आफ्नो सुरक्षाको चिन्ता हुने भन्दै उनले चुनौतीका बीच पनि एनआरएनले देशको पुनर्निर्माणमा सहयोग गर्ने बताए ।एनआरएनलाई पनि सरकारले सुरक्षाको प्रत्याभूति भने गराउनपर्ने उनको भनाइ छ।
सरकारले आफूहरू सँग कस्तो खालको सहयोग खोज्छ भनेर तय भइनसकेको भन्दै उनले सरकारले मागेका आधारमा आफुहरु सहयोग ल्याउन तयार रहेको प्रतिबद्धता जनाए।
एनआरएनको लगानी ल्याउनका लागि उनीहरूलाई अधिकार दिन पनि कञ्जुस्याइँ गर्न नहुने उनको माग छ। यसो भन्दैमा देशलाई सहयोग गर्नुअघि आफूहरूले सर्त नराख्ने उनले स्पष्ट पारे।
‘हामीलाई पूर्ण अधिकार सहितको नागरिकता चाहिन्छ। जसले गर्दा एनआरएनलाई काम गर्न सजिलो होस्। तर हामी यो बेला बार्गेनिङ गर्ने पक्षमा छैनौ,’ उनले भने, ‘देश संकट परेका बेला हामी हाम्रा मागलाई भुलेर निःसर्त काम गर्छौं। पहिला देशलाई अघि बढाउने हाम्रो लक्ष्य हो।’
उनले सेयर बजारमा पनि एनआरएनलाई नेपाली सरह अधिकार दिन पर्ने बताए। सेयर बजार विश्वासका आधारमा चल्ने भन्दै उनले आफ्ना नागरिकलाई पराइ नठानिकन समान ढंगले व्यवहार गर्नुपर्ने धारणा राखे।
सेयरबजारमा एनआरएनको लगानी आउनसाथ त्यसले गति लिने समेत उनको दावी छ। आर्थिक संकट र मन्दीबाट जोगाउनलाई समेत सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।
‘देशमा सिंहदरबार, सर्वोच्च अदालत जस्ता प्रमुख सरकारी निकाय जलेका छन्। यस्तो बेला जसले पनि आफूले चाहेको ठाउँ ध्वस्त पार्न सक्छ भन्ने त्रास भएको छ,’उनले भने, ‘त्यसैले विदेशी नागरिकता लिए पनि एकपटकका नेपाली सधैँका नेपाली हुन् भन्ने व्यवहार गरेर सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ। यस्तो गर्न सकेमा लगानीको कमी हुदैन भन्ने लाग्छ।’