गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवाद समाधान गर्न संघले आन्तरिक तयारी अघि बढाएको छ। संस्थाभित्रको एकता कायम गर्नका लागि अध्यक्ष डा. बद्री केसीलाई रोडम्याप तयार गर्ने जिम्मेवारी दिइएको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार गत शुक्रबार बसेको पदाधिकारी बैठकले संस्थामा देखिएको मतभेद अन्त्य गर्दै एकता कायम गर्ने मार्गचित्र (रोडम्याप) तयार पार्ने जिम्मेवारी अध्यक्ष डा. केसीलाई दिएको हो। सो बैठकले सबै पक्षलाई समेटेर आउँदो अक्टोबर ११ मा ‘एनआरएनए डे’ संयुक्त रूपमा मनाउने निर्णयसमेत गरेको छ। सोही अवसरमा एकताको औपचारिक रोडम्याप प्रस्तुत गरिनेछ। अध्यक्ष डा. केसीले जिम्मेवारी पाएको दिनदेखि नै आन्तरिक छलफल सुरु गरिसकेको जानकारी डा. शर्माले दिएका छन्।
डा. शर्माले बैठकले दिएको म्यान्डेटअनुसार अध्यक्षलाई आवश्यक सहयोग गर्न सके मात्र यो एकता पहल सफल हुनसक्ने बताएका छन्। उनले व्यक्तिगत चाहना, कुण्ठा र असन्तुलित अभिव्यक्तिका कारण एकता प्रक्रिया बाधित हुनसक्ने चेतावनीसमेत दिएका छन्। उनका अनुसार एनआरएनएलाई पुनःस्थापना (रिब्रान्डिङ) गर्ने यो उपयुक्त मौका हो।
डा. शर्माले भने ‘एनआरएनएभित्रको मुख्य समस्या भनेको ३ पी होः पोलिटिक्स, पर्स (पैसा) र पावर अर्थात् एनआरएनएको नेतृत्व लिन करोडौं रुपैयाँ खर्च गर्ने, राजनीतिक दलका नेताको घर–दैलो चाहर्ने र सबै खालका शक्ति साम, दाम, दण्ड, भेद प्रयोग गर्ने प्रवृत्तिको अब अन्त्य हुन जरुरी छ।’
उनले अबको एकता प्रयास २०२१ को जस्तो व्यक्तिको व्यवस्थापनमा सीमित नहुने र स्पष्ट दिशा–निर्देशनसहित ‘घए’ मुक्त एनआरएनए निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
यसअघि संघको अक्टोवरमा हुने भनिएको १२ औं महाधिवेशन एकताको लागि आह्वान गर्दै स्थगित भएको थियो।