उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा नेपालको प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरूको टोलीले नोभेम्बर १० देखि १४ सम्म पाँच दिने औपचारिक अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरेको छ।
भ्रमण टोलीमा बी.पी. स्मृति अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. भोला राम श्रेष्ठ, नेपाल आँखा राज्य अस्पतालका प्रमुख तथा प्रमुख कार्यकारी अधिकारी श्री धर्मराज गोसाईं र वरिष्ठ स्वास्थ्य व्यवस्थापन सल्लाहकार श्री महेन्द्र राज भुसाल रहेका थिए।
भ्रमणका क्रममा टोलीले विश्वविद्यालयद्वारा निर्माणाधीन एसिया इन्टरनेसनल अस्पताल परियोजनाको रणनीतिक योजना र वास्तु डिजाइनको विस्तृत अध्ययन गरेको थियो।
अस्पताललाई विश्वविद्यालयको दोस्रो क्लिनिकल बेसका रूपमा विकास भइरहेकाले, उक्त टोलीले पूर्वाधार, सुरक्षा, गुणवत्तापूर्ण स्वास्थ्य सेवा र शैक्षिक संरचनाको समग्र मूल्यांकन गरेको जनाएको छ।
यही अवसरमा भ्रमण टोलीले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको शैक्षिक स्तर, क्याम्पस वातावरण, सुरक्षा व्यवस्था तथा बसोबासजन्य सुविधाको प्रत्यक्ष अनुगमन गरेको थियो।
टोलीले सम्पूर्ण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको निष्कर्ष निकालेको छ।
नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालय एसिया इन्टरनेसनल युनिभर्सिटी नेपाल चिकित्सा शिक्षा आयोगमा दर्ता भइसकेको छ भने नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृत मान्यता प्राप्त विश्वविद्यालय हो।
यहाँ हाल २५ जना नेपाली विद्यार्थी विभिन्न कार्यक्रम, विशेषतः चिकित्सा शिक्षा, अध्ययनरत छन्।
विश्वविद्यालयका डिन डा. किशन भण्डारीका अनुसार, नेपाली विद्यार्थीहरूका लागि अत्यन्त सहज र सहयोगी वातावरण उपलब्ध छ। उनले डिनसहित पाँच जना नेपाली शिक्षक कार्यरत भएकाले भाषा, परामर्श तथा संपर्क सहज भएको उल्लेख गरे।
उज्बेकिस्तान—अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बढ्दो गन्तव्य
हाल उज्बेकिस्तान नेपाली, भारतीय, बंगलादेशी तथा अन्य अनेक देशका विद्यार्थीहरूको लागि चिकित्सा शिक्षाको प्रमुख विकल्प बन्दै गएको छ। आधुनिक पूर्वाधार, सुरक्षित परिवेश, किफायती शुल्क र गुणस्तरीय शिक्षाका कारण युनिभर्सिटीमा हाल ११ देशका ५०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्।
एसिया इन्टरनेसनल युनिभर्सिटीमा करिब ३३,००० विद्यार्थी ४९ शैक्षिक कार्यक्रममा अध्ययन गरिरहेका छन्।
नेपाली स्वास्थ्य विशेषज्ञहरूको पाँचदिने भ्रमणले एशिया इन्टरनेशनल युनिभर्सिटीले अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा, पूर्वाधार र विद्यार्थीमैत्री वातावरण उपलब्ध गराइरहेको तथ्य पुष्टि भएको छ।
विश्वविद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्टता, विद्यार्थी कल्याण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।