गैरआवासीए नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष हेमराज शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष शर्माले सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
आगामी मार्चमा काठमाडौंमा हुने एनआरएनएको १२औं विश्व सम्मेलनलाई लक्षित गर्दै उनले एनआरएनएलाई अझ सान्दर्भिक,प्रभावकारी र समावेशी बनाउन समयानुकुल रुपान्तरण गर्ने योजनाका साथ आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन्।
विगत केही वर्षयता केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजन सिर्जना हुँदा गैरआवासीय नागरिकताको कार्यान्वयनसहित एनआरएनसम्बन्धी मुद्दाहरू ओझेलमा परेको भन्दै शर्माले संघकै अस्तित्व नै संकटमा पर्ने स्थिति आएको हो कि भन्ने आशंका बढ्दै गएको उनको भनाई छ।
'संघभित्रको खिचातानीका कारण पेशागत समुदाय र दोस्रो पुस्ताको सहभागिता लगभग शून्य रहेको छ। आजसम्म पनि संघमा २% भन्दा कम गैरआवासीय नेपालीलाई मात्र आवद्ध गराउन सकेका छौं,' शर्मा भन्छन्, 'यसै सन्दर्भमा, हालै भएको बृहत् एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्याउनु संघको दीर्घकालीन स्थायित्व र प्रभावकारिताका लागि अपरिहार्य देखिन्छ।'
उनले दश निर्देशनात्मक सिद्धान्तका आधारमा एनआरएनाको रिब्रान्डिङ गर्दै पुस्तौंसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
एकीकृत एनआरएनए ,समावेशी एनआरएनए, प्रविधियुक्त एनआरएनए ,परिणाममुखी एनआरएनए, दिगो एनआरएनएमा आफूले विशेष जोड दिने उनको भनाई छ। त्यस्तै बहुआयामिक एनआरएनए, ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, एनआरएनका लागि एनआरएन र नेपाल सरकारको भरपर्दो साझेदार एनआरएनए बनाउने उनको प्रतिबद्धता छ।