गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा प्रस्तावकमा सुवास लामिछाने र ईश्वर गुरूङ रहेका छन् भने समर्थकमा बाबुराम भण्डारी र मोहन घले समर्थक रहेका छन्।
शेरचनले ‘एक मन, एक संगठन’ को अवधारणा अघि सार्दै उनले संस्थाभित्रको आन्तरिक कलह र मनमुटावलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने संकल्प गरेका छन्।
यस्तै उनले गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दालाई विशेष प्राथमिकता दिएका छन्।
संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका प्रशासनिक र कानुनी जटिलता हटाउन आफूले निर्णायक पहल गर्ने उनको भनाइ छ।
भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई शेरचनले विशेष जोडका साथ उठाएका छन्।
बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ।
साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई थप प्रभावकारी र सक्रिय बनाउने उनले बताएका छन्।
आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रूपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्।
नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारका लागि लबिङ गर्ने उनको योजना छ।
निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने शेरचनले वाचा गरेका छन्।