चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारीबारे गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री शिशिर खनाल र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग भेटेर छलफल गरेको छ।
एनआरएनएले आयोजना गर्न लागेको सम्मेलनको तयारीबारे सोमबार परराष्ट्रमन्त्री खनाल र नवप्रवर्तन मन्त्री पुनलाई अवधारणापत्र प्रस्तुत गरेको हो।
प्रतिनिधिमण्डलमा संघका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुणाल मिश्र सहभागी थिए।
भेटका क्रममा डा. रेग्मीले सम्मेलनको उद्देश्य, विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमहरूसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराए।
उनले सम्मेलनलाई केवल छलफलमा सीमित नराखी सरकार, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, निजी क्षेत्र र विश्वभरका नेपाली विज्ञहरूबीच परिणाममुखी सहकार्यको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।
गैरआवासीय नेपाली संघद्वारा सन् २०१८ मा आयोजित प्रथम विश्व नेपाली ज्ञान सम्मेलनमा आफ्नो सहभागिता स्मरण गर्दै माननीय परराष्ट्रमन्त्री खनालले यस्ता सम्मेलनहरूले नेपाल र विश्वभर रहेका नेपाली विज्ञहरूबीच ज्ञान आदानप्रदान तथा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ लाई सफल बनाउन नेपाल सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको धारणा व्यक्त गरे। साथै, विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, उद्यमी तथा पेशाकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।
भेटवार्ताका क्रममा उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐनको कार्यान्वयन तथा त्यससँग सम्बन्धित विद्यमान कानुनी एवं व्यावहारिक अवस्थाबारे जानकारी गराउँदै कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरिन्।
जवाफमा परराष्ट्रमन्त्री खनालले गैरआवासीय नेपालीहरूको दीर्घकालीन चासोसँग सम्बन्धित सम्पत्ति, लगानी तथा भिसासम्बन्धी केही कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए। यसबाट गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी तथा आर्थिक गतिविधिमा थप सहज वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
यसैगरी प्रतिनिधिमण्डलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनसँगको भेटका क्रममा नेपालमा नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानलाई सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गर्दै सहकार्यका लागि अनुरोध गरिएको थियो।
मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले ज्ञान हस्तान्तरण, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य तथा नवप्रवर्तन प्रवर्द्धनका क्षेत्रमा गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै उक्त अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभव अपरिहार्य हुने बताए।
साथै, विश्वभर फैलिएको नेपाली डायस्पोराको बौद्धिक तथा व्यावसायिक क्षमतालाई नेपालको समृद्धि र दिगो विकासका लागि प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
