गैरआवासीय नेपाली अभियानीहरुले युवा तथा दोस्रो पुस्ताका नेपाली महिलालाई एनआरएनएको नेतृत्वमा जोड्दै योजनाबद्ध नेतृत्व हस्तान्तरण, नीति निर्माणमा अर्थपूर्ण सहभागिता तथा विश्वभरका नेपाली महिलाबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) महिला विभागद्वारा आयोजित तेस्रो वेब अन्तरक्रिया कार्यक्रमअन्तर्गत ‘महिला विभाग : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया तथा आइसिसी र एनसिसीका महिला पदाधिकारीहरूबीचको परिचयात्मक कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।
उनीहरूले महिला सहभागिता क्रमशः निर्णय तहसम्म विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा नेतृत्व विकास, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण, उद्यमशीलता, डिजिटल सशक्तीकरण तथा सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा महिला विभागले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
महिला विभाग प्रमुख तथा आइसिसी महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व महिला उपाध्यक्षहरू रबिना थापा, सपिला राजभण्डारी, रञ्जना उदास, विष्णुमाया परियार, यास्मिन बेगम तथा वर्तमान उपाध्यक्षहरू रोजिना प्रधान राई र जुनु गुरुङलगायत विश्वभरका आइसिसी तथा एनसिसीका महिला पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले महिला विभागको स्थापनाकालदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै महिला नेतृत्वको विकास, संस्थागत उपलब्धि, भोगिएका चुनौती तथा सिकाइका अनुभवहरू साझा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला विभाग प्रमुख राधिका गुरुङ (टीका) ले महिला विभागलाई विश्वभरका नेपाली महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि र अवसर विस्तारको सशक्त मञ्चका रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले ज्ञानमूलक, अनुभव आदान–प्रदान तथा नेतृत्व विकास केन्द्रित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्।
विश्वका विभिन्न देशबाट महिला पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रमले विगतका अनुभवलाई सम्मान गर्दै वर्तमान उपलब्धिको समीक्षा र भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।