गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औं एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुने सम्मेलनलाई सफल बनाउन एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेल (आरसी) नेतृत्वको टोली सक्रिय बनेको छ।
एनआरएनएको एकतापछि आयोजना हुन लागेको क्षेत्रीय सम्मेलन भएकाले यसलाई संगठनको चासोका साथ हेरिएको छ।
सम्मेलनलाई उपलब्धिमूलक, व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्, आयोजक टोली तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीसँग निरन्तर समन्वय गरिरहेको क्षेत्रीय संयोजक कँडेलले बताए।
सहभागीको व्यवस्थापन, अतिथि सत्कार, कार्यक्रमको संरचना तथा अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको समेत उनको भनाइ छ।
कँडेलका अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थितिको पुष्टि हुने क्रम जारी छ।
नेपालका विभिन्न राजनीतिक दलका सांसद, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, एसिया–प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, लगानीकर्ता, पर्यटन व्यवसायी, वैदेशिक रोजगार क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने छ।
उनले ‘आरोहण–२०२६’ केवल औपचारिक सम्मेलन नभई एनआरएनएको एकताको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
विश्वभर रहेका नेपालीलाई साझा उद्देश्यमा जोड्दै नेपालमा लगानी, व्यापार, पर्यटन, प्रविधि र ज्ञान हस्तान्तरणलाई नयाँ उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पनि एकतापछि हुन लागेको पहिलो एसिया–प्रशान्त सम्मेलन भएकाले विश्वभर रहेका सम्पूर्ण एनआरएनए अभियन्तालाई ग्वाङ्झाउमा सहभागी हुन आह्वान गरेका छन्।
उनले हालै निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूलाई सम्मेलनमा उपस्थित भई औपचारिक रूपमा सपथ ग्रहण गर्न विशेष अनुरोध गरेका छन्।
दुई दिने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापारिक साझेदारी (बीटुबी नेटवर्किङ), पर्यटन प्रवर्द्धन, सूचना प्रविधि, जलविद्युत्, कृषि, पूर्वाधार विकास, महिला उद्यमशीलता, युवा सहभागिता तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उत्पादनमुखी बनाउने विषयमा गहन छलफल हुनेछ।
दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति र नेपालसँगको भावनात्मक सम्बन्धमा जोड्ने विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।
सम्मेलनअन्तर्गत पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन्।
समापन समारोहमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकारलाई लगानी, पर्यटन, वैदेशिक रोजगारी, प्रवासी नेपालीका अधिकार तथा नीतिगत सुधारसँग सम्बन्धित महत्वपूर्ण सुझाव प्रस्तुत गरिनेछ।
सम्मेलनको स्थानीय आयोजक एनआरएनए चीन हो। आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।