नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोमा नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि जनाएका छन्।
आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा विरोध गरेका हुन्।
नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाएपछि आइतबार मन्त्रिमण्डल पुनर्गठन भएको थियो। त्यसतर्फ लक्षित गर्दै पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गर्न नहुने बताए।
‘ए बाबा एउटा पार्टीका सांसद सरकारमा मन्त्री भएर गएका छन्। चार दिन हुन पाएको छैन, त्यसलाई हटाउन पर्ने?,’ उनले भने, ‘पालोपालो मन्त्री बनाउनुपर्ने? सबैको पालो पुर्याउनुपर्ने मन्त्री बन्नलाई? यो कहाँ त्यस्तो हुन्छ? सबैको पालो पुग्ने कुरा हुन्न।’
उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ? भन्ने प्रश्न पनि गरेका थिए।
‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ। आउँछ यो देशमा? कसरी आउँछ?,’ पौडेलले भने, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने?’
आइतबार सहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा झाक्री भावुक भएकी थिइन्।