प्रतिनिधि सभा निर्वाचनमा चार मन्त्रीले पराजय व्यहोरेका छन्। गृहमन्त्रीसहित चार जना मन्त्रीले चुनाव हारेका हुन्। गृहमन्त्री बालकृष्ण खाणलाई रूपन्देहीमा ३ मा राप्रपाका दीपक बोहोराले हराएका छन्। बोहोराले ३६ हजार ६ सय ४८ मत ल्याए भने खाणले ३४ हजार ४ मत पाएका छन्।
यस्तै, काठमाडौं ८ बाट उठेका पर्यटन मन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भए। काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए। विजयी श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १ सय ७७ मत ल्याएका छन्।
यस्तै, ललितपुर ३ मा उम्मेदवारी दिएकी उर्जा मन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित भइन्। कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा मन्त्री भुसालले ८ हजार ७ सय ६९ मत ल्याएकी छन्।
यता, बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीले खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका छन्। खानेपानी मन्त्रीले ३० हजार ५६ मत ल्याउँदा मैनालीले ३९ हजार १ सय ९५ मत प्राप्त गरे।
यस्तै, बाँके १ मा खेलकुद मन्त्री महेश्वरराज गहतराज पराजित भएका छन्। उनले एमालेका सूर्यप्रसाद ढकालसँग ५ हजार ३ सय ९४ मत अन्तरले पराजित भए। गहतराजले १९ हजार ६ सय ३२ मत ल्याउँदा ढकालले २५ हजार २६ मत ल्याए।
चुनावमा होमिएकामध्ये अर्थमन्त्री जनार्दन शर्मा रूकुम पश्चिमबाट विजयी भए। उनले ३९ हजार ५ सय ४९ मत प्राप्त गरे।
यता, दार्चुलामा उद्योग मन्त्री दिलेन्द्र बडु विजयी भएका छन्। उनले २८ हजार ५ सय १५ मतसहित उनी विजयी भएका हुन्। उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन्।
यस्तै, बाग्लुङ २ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल विजयी भएका छ्न। २५ हजार ७ सय ७९ मतसहित उनी निर्वाचित भएका हुन्। पौडेलले एमालेकी मञ्जु शर्मालाई हराएका हुन्।
यता, अछाम १ मा श्रममन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका हुन्। एमालेका झपट बोहोरालाई हराउँदै १९ हजार ५ सय ३४ मत ल्याएर उनी विजयी भएका हुन्।
दाङ १ मा सहरी विकास मन्त्री मेटमणि चौधरी निर्वाचित भएका छन्। उनी २६ हजार ५ सय ६३ मतसहित निर्वाचित भएका छन्।
उदयपुर १ मा परराष्ट्रमन्त्री नारायण खड्काको अग्रता रहेको छ। उनले १४ हजार ३ सय ४१ मत ल्याएका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले १२ हजार ८ सय ३२ मत ल्याएकी छिन्।
यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सुनसरी ४ मा अग्रता लिएका छन्। उनले २१ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् भने एमालेमा जगदिशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन्।