नेपाली कांग्रेसले सर्लाही क्षेत्र नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ विगतको भन्दा बढी मत ल्याए पनि त्यहाँ उम्मेदवार रहेका सभापति गगन थापाले चुनाव हारे।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले झन्डै १३ हजार मतान्तरले पराजित गरे।
अमरेशले २०७९ सालमा निर्वाचन जित्दा जम्मा २० हजार १७ मत ल्याएका थिए। यसपालि ३५ हजार मत ल्याएर उनी निर्वाचित भए। गगनले २२ हजार बढी मत ल्याए।
यसपालि कांग्रेसले आफ्नो मत बढाउँदा पनि कहाँबाट त्यति धेरै मत तानेर अमरेशले जिते?
रास्वपाको 'लहर' बीच अमरेश ३५ हजार ६८८ मतसहित विजयी भएका हुन्। सर्लाही–४ मा ७३ हजार ३४३ मत सदर भएको थियो। प्रत्यक्षतर्फ गगनले २२ हजार ८३१ मत ल्याए। उनले पाएको मत विजयी अमरेशको भन्दा १२ हजार ८५७ कम हो।
निर्वाचन आयोगको तथ्यांक अनुसार सर्लाही–४ मा समानुपातिकतर्फ पनि रास्वपाले नै धेरै मत ल्याएको छ। रास्वपाले समानुपातिकतर्फ ४५ हजार ५१६ मत ल्याएको हो।
यहाँ कांग्रेसले समानुपातिकतर्फ १८ हजार ८१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ गगनले २२ हजार ८३१ मत पाएका छन्।
२०७९ को चुनावमा कांग्रेसले सर्लाही–४ मा तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेको थियो।
कांग्रेसले नागेन्द्र कुमार रायलाई टिकट दिएको थियो। गठबन्धनका साझा उम्मेदवारका रूपमा नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए।
त्यस बेला सर्लाही–४ मा कुल ६९ हजार २१५ सदर मत थियो। त्यो बेला एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको थियो। जसपाका उम्मेदवार राकेशकुमार मिश्रले ५ हजार ८१३ मत मात्रै पाए। एमालेको सूर्य चिह्नमा उम्मेदवार थिएनन्।
त्यस बेला एमालेले समानुपातिकतर्फ ९ हजार ४७१ मत ल्याएको थियो। प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार रहेकी शिवपुजन यादवकी छोरी मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्।
जनमत पार्टीका रामबाबु रायले ३ हजार ४२९, बहुजन एकता पार्टी नेपालका राजाराम पासवानले ५ हजार १५८, राप्रपाका महेश महतोले ५३७ मत ल्याएका थिए।
यसपालिको चुनावमा प्रत्यक्षतर्फ एमालेले पनि उम्मेदवारी दिएको थियो। एमालेका उम्मेदवार शिवपुजन यादवका छोरा अमनिश कुमार यादव थिए। उनले ९ हजार ३४३ मत प्राप्त गरे।
नेकपाका उम्मेदवार रजनिश रायले १ हजार २५९, जनमतका उम्मेदवार राकेशकुमार मिश्रले १ हजार ३६५, बहुजन एकता पार्टी नेपालका हरिनन्दन राय यादवले ४५२, जसपा नेपालका रामेश्वर यादवले १८४ मत ल्याएका छन्।
तीन वर्षअघि स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत ल्याए पनि यसपालि उनले त्यो मत जोगाउन सकिनन्। जनमत, जसपा, बहुजन पार्टी, राप्रपाले पनि विगतको तुलनामा कम मत ल्याए।
यसपालिको मत विश्लेषण गर्दा, कांग्रेसबाहेक अरूको धेरै मत रास्वपा उम्मेदवार अमरेशलाई जाँदा उनले भारी मतान्तरसहित जितेका हुन्।
त्यस्तै, सर्लाही–४ मा समानुपातिकतर्फ यसपालि एमालेले ५ हजार ५३६, जनमतले १ हजार ५९०, नेकपाले १ हजार २१५, बहुजन लगायत दलले बस चिह्नमा १०६७, जसपाले ८५८, राप्रपाले ४९९ मत ल्याएका छन्।
विगत चुनावमा एमालेलाई समानुपातिकतर्फ मत हालेकामध्ये आधाले यसपालि एमालेलाई मत नदिएको देखिन्छ। २०७९ सालको चुनावमा एमालेले समानुपातिकमा ९ हजार ४७१ मत ल्याएकोमा यसपालि ५ हजार ५३६ मत मात्रै ल्याएको छ। एमालेलाई नगएको मत यसपालि रास्वपालाई गएको देखिन्छ।
२०७९ सालमा जनमत पार्टीले समानुपातिकमा १२ हजार ५०० मत पाएको थियो। यसपालि जनमतको १ हजार ५५० मात्रै आयो। यसपालि उसको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत स्वाट्टै घटेको छ। यो मत पनि रास्वपातर्फ गएको देखिन्छ।
साथै तत्कालीन माओवादीले समानुपातिकतर्फ ९ हजार ७०० मत ल्याएकामा यसपालि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ हजार २१५ मत मात्रै आएको छ। बाँकी मत रास्वपाकै उम्मेदवारलाई गएको देखिन्छ।
यसरी कांग्रेसले यसपालि सर्लाही–४ मा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ मत बढाए पनि रास्वपाले अरू दलहरूमा पहिले गएको मतको ठूलो अंश एकोहोर्याएपछि अमरेशले निर्वाचन जितेको देखिन्छ।