फागुन २१ गते भएको निर्वाचनपछि अब केही साताभित्रै प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ।
पहिलो बैठकको मिति भने राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नेछन्।
संविधानको धारा ९३ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र प्रतिनिधि सभाको पहिलो बैठक बोलाउनुपर्छ।
निर्वाचन आयोगले आउँदो चैत ५ गतेभित्रै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरिरेको छ। निर्वाचन परिणाम प्राप्त भएपछि राष्ट्रपतिले पहिलो बैठकको मिति तोकेर संसदको अधिवेशन आह्वान गर्नेछन्।
राष्ट्रपतिसँगै संघीय संसद सचिवालयलाई पनि निर्वाचन आयोगले निर्वाचन परिणाम पठाउँछ। यसरी परिणाम पठाउँदा आयोगले ज्येष्ठ सदस्यको उमेरसमेत खुलाएर पठाउने गर्दछ। परिणाम प्राप्त भएपछि संसद सचिवालयले शपथ ग्रहणको मिति तोक्नेछ। सचिवालयले मिति तोकेर शपथ ग्रहणमा आउन नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई गोरखापत्रमा सूचना प्रकाशित गर्छ।
पहिलो बैठक बस्नु अघि सांसदहरूको शपथग्रहण हुनेछ। शपथ सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले गराउनेछन्।
शपथ लिएपछि सांसदहरूले संसदको पहिलो बैठकमा भाग लिन पाउँछन्।
पहिलो बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्छन्। उक्त बैठकमा ज्येष्ठ सदस्यले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य ३ जनाको नाम प्रस्ताव गर्छन्।
त्यस्तै पहिलो बैठकमा नै अन्तरिम सरकारले ल्याएका निर्वाचनसम्बन्धी अध्यादेश टेबल हुनेछ।
मतदाता नामावली पहिलो संशोधन अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश बैठकमा टेबल हुन्छ।
त्यस्तै संविधानको धारा धारा ९१ अनुसार प्रतिनिधि सभाका सभामुख चयनका लगि प्रक्रिया आरम्भ पनि सोही दिन हुनसक्छ। किनभने संविधानले पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख र उपसभामुख चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।
सामान्यतया पहिलो बैठकबाट नै सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्न महासचिवलाई जिम्मेवारी तोक्ने गरिएको छ। संसद सामान्यता प्रतिनिधि सभा नियमावलीअनुसार चल्छ। नियमावलीमा नभएका कुरा संसदीय व्यवस्थाका परम्पराअनुसार अघि बढ्छन्।
सभामुखको निर्वाचन सम्पन्न भएपछि उपसभामुखको चुनाव हुन्छ। सभामुख र उपसभामुख नै १५ दिनभित्र चयन गर्नुपर्ने भएकाले समयको चापलाई मध्यनजर गर्दै पहिलो बैठकबाट नै सभामुख चयनका लगि प्रक्रिया आरम्भ हुन्छ।
त्यस्तै संसदमा राष्ट्रपति कार्यालयबाट विभिन्न मितिमा आएका पत्र वाचन गरेर सुनाउने प्रचलन छ। प्रधानमन्त्री नियुक्त भएको, मन्त्रिपरिषद् गठन र विस्तार भएको लगायतका विषयमा राष्ट्रपति कार्यालयबाट आउने पत्र सभामुखले पढेर सुनाउँछन्।
प्रधानमन्त्रीको नियुक्ति प्रतिनिधि सभाको पहिलो बैठक अघि नै हुने सम्भावना छ। निर्वाचन परिणाम राष्ट्रपतिले प्राप्त गरेपछि बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन्।
रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह संसदको पहिलो बैठकअघि नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ। बालेन प्रधानमन्त्री नियुक्त भए संसदको पहिलो बैठकमा उनी प्रधानमन्त्री नियुक्ति भएको सूचना पढेर सुनाइनेछ।
सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले बैठक सञ्चालन गर्छन्। दोस्रो बैठकमा जेष्ठ सदस्यले दलहरूका तर्फबाट मतदातालाई धन्यवाद दिने कार्यक्रम राख्न सक्छन्।
तर निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गरेकाले दोस्रो बैठकअघि नै सभामुखको चयन भइसक्ने सम्भावना छ। सर्वसम्मत रुपमा सभामुख चयन भएको अवस्थामा दोस्रो बैठक सभामुखले नै सञ्चालन गर्न पनि सक्छन्। नेपालमा पछिल्लो समय सभामुखको चयन सामान्यतया सर्वसम्मत रूपमा हुने गरेको छ।
विगतमा निर्वाचनपछिको प्रतिनिधि सभा बैठकबाट दलका नेताहरुले मतदाताहरूलाई धन्यवाद दिने र नयाँ सरकारलाई शुभकामना दिने प्रचलन छ।