मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको सबै मतपरिणाम सार्वजनिक भएको छ।
प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिकमा सिट पाएर राष्ट्रिय दल बन्ने दलहरूको संख्या ७ छ। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी प्रतिनिधि सभामा राष्ट्रिय पार्टी बनेका छन्।
प्रदेश सभामा भने अरू दलहरूले पनि समानुपातिकतर्फको थ्रेस होल्ड (सदर मतको १.५ प्रतिशत पाउनु पर्ने) कटाएका छन्।
सातमध्ये मधेश र लुम्बिनी प्रदेश सभामा सबैभन्दा धेरै दल हुने भएका छन्।
दुबै प्रदेशका प्रदेश सभामा १०/१० दलका सांसदहरूले प्रतिनिधित्व गर्ने भएका छन्।
१०७ सिट रहेको मधेस प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ।
यस्तै प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ।
अघिल्लो पटक मधेशमा पहिलो दल बनेको जसपा यसपालि प्रदेश सभामा तेस्रो दल बनेको छ। उसले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ।
प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा दुई सिट पाएर पाँचौं दल भएको छ।
मधेसमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ।
प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन्। राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक/एक सिट जितेका छन्।
८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षमा १८ सिट जितेको एमालेले समानुपातिकमा ११ सिट थपेर २९ सिट पाएको छ।
यस्तै प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित २७ सिट जितेको नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ।
प्रत्यक्षमा पाँच सिट जितेको माओवादीले समानुपातिकमा थप चार सिट जितेर ९ सांसदसहित तेस्रो दल बनेको छ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा समान दुई/दुई सिट जितेका छन्। जसपा र लोसपाले प्रत्यक्षमा दुई र समानुपातिकमा समान एक-एक सिटसहित ३-३ सिट हात पारेका छन्।
यहाँ जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १/१ गरी २ सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले समानुपातिकमा एक मात्र सिट पाउँदा प्रत्यक्षतर्फ तीन स्वतन्त्र निर्वाचित भएका छन्।
गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा थोरै दल संसदमा पुगेका छन् ।प्रदेश १ मा ६ दल, बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा पनि ६ दलले संसदमा प्रवेश पाएका छन्।
गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७, राप्रपाका २ र नेपाल समाजवादी पार्टीका १ सांसद छन्। १ जना स्वतन्त्र सांसद छन्। स्वतन्त्र सांसद दीपक मनाङे केही दिनअघि मात्र नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
कर्णाली प्रदेशमा कांग्रेसका १४, नेकपा माओवादीका केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) का १ र राप्रपाका १ जना सांसद छन्।
प्रदेश १ मा ६ दल छन्। नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना छन्।
बागमती प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
सुदूरपश्चिम प्रदेशमा ६ पार्टीले संसदमा प्रवेश पाएका छन्। कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र स्वतन्त्र १ जना सांसद छन्।