दोस्रो लहरको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढेपपछि सर्वसाधरणको जीवन रक्षाका लागि झापा प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञाले जिल्लाका अधिकांश ठाँउ सुनसान बनेको छ।
पूर्वपश्चिम राजमार्गमा अतिआवश्यक ढुवानीका साधनबाहेक अन्य साधन चल्न दिइएको छैन। राजमार्गसँग जोडिएका जिल्लाका सबै बजारमा औषधीबाहेकका पसल ठप्प छन्। मास्क, ग्लोब्स र ‘फेस शिल्ड’ लगाएर निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी राजमार्गमा निस्किएका छन्।
जनताको सुरक्षाका लागि ड्युटी गर्नैपर्ने बाध्यतामा रहेका ‘फ्रन्टलाइन’का सुरक्षाकर्मीले शनिबार बिहान समयमा खान पनि पाएनन्। पूर्णनिषेधाज्ञाको पहिलो दिन भएर समयमा खान नपाएको उनीहरूले बताए। ड्युटीमा रहेका प्रहरीले भने, ‘सायद भोलिदेखि सर्वसाधरणले बुझ्नुहुन्छ र खाना समयमै खान पाइन्छ।’
सारा मानिस घरभित्र बस्दा उनीहरू तातो सडकमा दिनभर ड्युटी गरिरहेका छन्।
विर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, चन्द्रगढी, झिलझिले, सुरुंगा लगायतका भित्री बजार शिवगञ्ज, झापा बजार, गौरादहमा मास्क लगाएर प्रहरी तातो घाममा सडकमा उभिएर डिउटी गर्दा उनफहरुको दिन निकै कष्टकर बनेको छ।
‘फ्रन्टलाइनका हामी जोखिम मोलेर भए पनि जनताको सुरक्षाका लागि सडकमा आएका हौं,’ राजमार्गमा खटिएका एक प्रहरी जवानले भने, ‘नागरिकको सेवा गर्ने कसम खाएर जागिरमा आएपछि अहिलेको परिस्थितिलाई प्रहरीले सहज रुपमा लिनुपर्छ। आम मानिसले निषेधाज्ञाका कारण कष्टकर जीवन भोगिरहेका बेला आफ्नो कुरा सोच्नै भ्याएका छैनौं।’
राजमार्गमा ड्युटी गर्दा कतिपय जिद्दीवाल हुन्छन्। उनीहरूलाई सम्झाउदा गाली पनि गर्छन्। ‘तर, त्यसलाई सुझाव र अर्तिका रुपमा लिनेगरेका छौं,’ ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश श्रेष्ठले भने, ‘मुलुक नै सङ्कटमा परेका बेला शान्त हुनुको विकल्पै रहन्न।’
लक्ष्मीपुरदेखि ६ किलोमिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय घैलाडुव्बाको टोली पनि राजमार्ग ड्युटीमा आएको छ। प्रहरी नायब निरीक्षक भुवन कार्कीले भने, ‘कोरोनाका बारेमा सम्झाउनु पर्ने गरी यस पटक राजमार्गमा यातायातका साधन चलेकै छैनन्। घर बाहिर पनि सर्वसाधरण आएका छैनन्।’
महामारीले दोस्रो रुप लिएर दिनहुँ मानिसको मृत्यु भएको खवर आमसञ्चार माध्यबाट थाहा पाएर होला, यसपटक सर्वसाधरणलाई ‘होल्ड’ गर्नु नपरेको उनले बताए।
जिल्लाका राजमार्ग र सहायक सडकहरुमा निषेधाज्ञाको पूर्ण पालना गराउन ८४ वटा युनिटलाई सक्रिय गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सङ्कट र विपतका बेला भरपर्दो साथी बनेर आम नागरिकको सुरक्षा र हितमा प्रहरी समर्पित रहँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक राकेश थापाले बताए। उनले भने, ‘कोभिड १९ को सङ्क्रमणबाट जोगिने विषयमा संयमता अपनाउँदै सजग रहन ड्युटीमा खटिने प्रहरीलाई निर्देशन दिइएको छ।’
शनिबार जिल्ला प्रहरी कार्यालय झापाले पूर्वपश्चिम राजमार्गसहित भित्री बजारको अनुगमन गरेको छ। औषधीबाहेकका कुनै पनि पसल नखोलिएको र सर्वसाधरण घरमै सुरक्षित साथ बसेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राजमार्गमा टाढाबाट आएका ढुवानीका साधनलाई जहाँ छन् त्यहीँ ‘होल्ड’ गरिएको झापा प्रहरीले जनाएको छ। उनीहरूको अवस्था हेरेर साँझसम्म छोड्न सकिने प्रहरी नायब उपरीक्षक थापाले बताए।