कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौंडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदिमा छाडेको हो।
गैंडाकोट नगरपालिका प्रमुख मेयर छत्रराज पौडेलसहितले बिहीबार नदीमा माछाका भुरा छोडेका हुन्।
गैंडाकोट नगरपालिका वडा नम्बर ३ को ढोडेनीदेखि १० किलोमिटरमाथि महेश्वर खोला भ्रोक्रे फाँट भन्ने स्थानमा पुगेर नदीमा माछा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए।
मेयर पौडेल आफैं पुगेर उनकै हातबाट माछाको भुरा नदीमा छोड्न पाउँदा आफूहरू धेरै खुसी भएको यादवले बताए।
नदीमा माछाका भुरा छाड्दै मेयर पौडलले नदीमा माछाको प्रवर्द्धन गरी प्रकृतिको संरक्षणमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले महत्वपूर्ण काम गरेको बताए।
जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने मेयर पौडेलको भनाइ छ। नदीको संरक्षणका लागि पनि यो महत्वपूर्ण काम भएको पौडेलको दाबी छ।
कार्यालयले यसअघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार र नारायणी नदीमा ४० हजार भुरा छोडिसकेको छ।
त्यस्तै, सप्तकोसी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए।
खोलानालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि आफूहरूले यो कार्यक्रम गरेको यादवको भनाइ छ।
त्यस्तै, कार्यालयले गैंडाकोट-३ स्थित ढोडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ।
आफूहरूको मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेको र नदीनालाको अध्ययन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रवर्द्धन गर्न माछा भुरा छाँडिदै आएको यादवको भनाइ छ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए। प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उनको भनाइ छ।