जर्मनीको पश्चिम सहर गेल्सेनकिर्चेनमा रहेको एउटा बैंक फिल्म शैलीमा लुटिएको छ।
क्रिसमसको छुट्टीको फाइदा उठाउँदै स्पार्कासे बैंकबाट ३ करोड युरो लुटेर फरार भएको बिबिसीले जनाएको छ।
प्रहरीका अनुसार चोरी गर्ने समूहले अत्यधुनिक र ठूलो ड्रिल मेसिन प्रयोग गरी सेफ राखिएको ठाउँसम्म पुगेको र त्यहाँबाट ३ हजारभन्दा बढी लकर तोडेर त्यहाँ राखिएका नगद, गरगहना र बहुमुल्य धातु लुटेर फरार भएका थिए।
यो काम गर्न चोरी गर्ने समूहले शनिबारदेखि आइतबार बिहानसम्म लगाएका थिए।
क्रिसमसको छुट्टीका कारण बैंक आसपास मानिसहरूको चहलपहल पनि अत्यन्त कम भएकाले चोरी गर्ने समूहलाई सजिलो भएको प्रहरीले जनाएको छ।
औद्योगिक ड्रिल मेसिन प्रयोग गरिएकाले ठूलो आवाज पनि नआएको बताइएको छ।
चोरहरू पार्किङबाट ड्रिल गरेर बैंकको भूमिगत सेफसम्म पुगेका थिए।
त्यहाँबाट पैसा लिएर उनीहरू कसैले पनि थाहा नपाउने गरी गाडी चढेर फरार भएका थिए।
हलिउड मुभी ओसियन्स इलेभेन जस्तै ढंगले बैंक लुटिएको प्रहरीले बताएको छ।
सोमबार बिहान सबेरै आगलागीको अलार्म बजेपछि मात्र घटनाबारे जानकारी पाइएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरी र दमकल टोलीले भवनको खोजतलास गर्दा भूमिगत भल्टसम्म पुग्ने गरी बनाइएको प्वाल फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानले बैंकसँगै रहेको पार्किङ ग्यारेजमार्फत उनीहरू प्रवेश र फरार भएको देखाएको छ।
शनिबार रातिदेखि आइतबार बिहानसम्म पार्किङ ग्यारेजको सिँढीमा ठूला झोला बोकेका केही मानिस देखिएको स्थानीयले बताएका छन्।
सिसिटिभी फुटेजमा सोमबार बिहान डि–ला–चेभालरी–स्ट्रासेतर्फबाट कालो रंगको अडी आरएस–६ कार पार्किङ ग्यारेजबाट बाहिरिएको देखिएको प्रहरीको भनाइ छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन र चोर समूह फरार नै छ।
घटनापछि प्रभावित ग्राहकलाई स्पार्कासे बैंकले सम्पर्क गर्न आग्रह गरेको छ र विशेष हटलाइन पनि सञ्चालनमा ल्याएको छ।
मंगलबार ठूलो संख्यामा ग्राहक जानकारी माग्दै शाखा बाहिर भेला भएपछि प्रहरीले बैंकको प्रवेशद्वार सुरक्षित गरेको थियो। बैंकले आफ्नो वेबसाइटमार्फत मंगलबार शाखा बन्द रहने जनाएको छ।
स्पार्कासे बैंकका अनुसार करिब ९५ प्रतिशत सेफ डिपोजिट बक्स तोडिएकाले धेरै ग्राहक प्रभावित हुने सम्भावना उच्च छ।
प्रत्येक बक्सभित्रको सामग्री १० हजार ३ सय युरोसम्म बीमित रहेको र थप क्षतिका लागि ग्राहकले आफ्नो घर बीमामा अतिरिक्त कभरेज छ कि छैन जाँच गर्न बैंकले सुझाव दिएको छ।