सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब हारबाट जोगिएको छ। आजदेखि दशरथ रंगशालामा सुरू भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्स क्लबसँग १-१ गोलको बराबरी खेलेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ मिनेटमा फ्रेण्ड्सले अग्रता लिएको थियो। फ्रेण्ड्सका लागि जुडे गार्सियाले गोल गरेका थिए।
कप्तान प्रकाश बुढाथोकीको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
त्यसपछि लगातार विपक्षी पोस्टमा आक्रमण गरेको थ्रीस्टारले खेल सकिन ८ मिनेट बाँकी छदा बराबरी गोल फर्काउन सफल भयो।
थ्रीस्टारका लागि मिक्छेन तामाङले डिबक्सबाट गोल गरेका थिए।
बराबरीसँगै उपाधि दाबेदार मानिएको थ्रीस्टारले तीन खेलबाट चार अंक जोडेको छ।
पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० गोलले हराएको थ्रीस्टार अघिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १-० गोलले पराजित भएको थियो।
लिगमा फ्रेण्ड्स भने अझै जितबिहीन छ। पहिलो खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलको थियो। दोस्रो खेलमा भने फ्रेण्ड्सलाई संकटाले २-१ गोलले पराजित गरेको थियो।