म नुवाकोटको विदुरमा बस्छु। बट्टारस्थित ईपिक किड्स वर्ल्डमा कक्षा युकेजीमा पढ्छु। आज म तपाईंहरूलाई भदौ १० गतेको विनाशकारी बाढी आउनुभन्दा अघिका दुई दिन त्रिशूली बजारमा बिताएका पलहरूको सम्झना सुनाउन गइरहेको छु।
त्रिशूली बजार एउटा इतिहास बोकेको बजार। आज सयौँ वर्ष पुरानो सभ्यता नै हराएको छ। हो त्यही त्रिशूली बजारमा मैले भदौ ८ र ९ गते पुग्ने अवसर पाएको थिए। ती दुई दिन मैले त्रिशूली बजारमा के-के गरेँ त यो म हजुरहरुलाई सुनाउन चाहान्छु।
भदौ ८ गते: बर्गर, आइसक्रिम र राम मन्दिर
भदौ ८ गते म स्कुलबाट घर फर्किएँ। त्यस दिन बिहानै मैले मामुलाई अफिस सकिएपछि मलाई स्विमिङ पुल लैजान भनेको थिएँ। तर अफिस सकिएपछि मामुले भन्नुभयो, ‘आज स्विमिङ होइन, बर्गर खान जाने हो।’
मलाई बर्गर पनि मन पर्थ्यो। त्यसैले म खुसी हुँदै मामुसँग त्रिशूली बजार जान तयार भएँ।
त्रिशूली बजारमा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नजिकै ‘चिया पापा’ नामको एउटा रेस्टुरेन्ट छ। त्यहाँको बर्गर मलाई निकै मन पर्छ। मामुले यसअघि पनि मलाई त्यहाँ बर्गर खान लैजानुभएको थियो।
त्यस दिन हामी विदुरबाट पैदलै हिँडेर त्रिशूली बजारतिर लाग्यौँ। पुरानो त्रिशूली बजार हुँदै एक्रा ब्रिज पार गरेर अगाडि बढ्यौँ। पुरानो त्रिशूली पुलको ठीक पारिपट्टि एउटा आइसक्रिम डिलर पनि रहेछ। मामुले मलाई त्यहाँ आइसक्रिम खुवाउनुभयो। उहाँले पनि आइसक्रिम खानुभयो।
त्यहाँका साहुजीले भन्नुभएको थियो, ‘यो त आइसक्रिम डिलर हो, त्यसैले यहाँ अरू ठाउँमा भन्दा सस्तोमा आइसक्रिम पाइन्छ।’
त्यो पसलमा साहुजी र सेल्स गर्लका रूपमा काम गर्ने दुई जना दिदीहरू पनि हुनुहुन्थ्यो। त्यस दिन उहाँहरूलाई देखेको कुरा अहिले पनि मलाई याद छ।
भदौ १० गते आएको बाढीले त्रिशूली बजारमा ठूलो क्षति पुर्याएको सम्झँदा उहाँहरूको अनुहार मेरो मनमा आउँछ। उहाँहरू अहिले कहाँ हुनुहुन्छ होला? सुरक्षित हुनुहुन्छ होला नि? म भगवान्सँग प्रार्थना गर्छु—उहाँहरू सबै सुरक्षित रहनुभएको होस्।
आइसक्रिम खाएपछि हामी त्रिभुवन त्रिशूली स्कुलको बाटो हुँदै चिया पापातिर लाग्यौँ। बाटोमा त्रिशूली नदीको किनारमा रहेको राम मन्दिर पनि आयो। हामी मन्दिरभित्र गयौँ र दर्शन गर्यौँ। त्यहाँ एक जना पुजारी बाजे पनि हुनुहुन्थ्यो।
अहिले उहाँलाई सम्झँदा मेरो मनमा एउटै कुरा आउँछ—बाढीले उहाँलाई केही नगरेको होस्। उहाँ पनि सुरक्षित हुनुहुन्छ होला भन्ने आशा गर्छु।
मन्दिर दर्शन गरेर हामी फेरि चिया पापातिर लाग्यौँ। बाटोमा त्रिभुवन त्रिशूली स्कुलको नयाँ, सुन्दर भवन देखियो। नदीको किनारमा रहेको त्यो स्कुल निकै ठूलो, सफा र शान्त वातावरणमा थियो।
हामी स्कुल हेर्दै अगाडि बढ्यौँ। केही पर पुगेपछि एउटा ठूलो र रमणीय चौर देखियो। त्यो पनि स्कुलकै चौर हुनुपर्छ भन्ने मलाई लाग्यो।
त्यो चौर देखेर मामुले भन्नुभयो, ‘आहा! स्कुलको कति धेरै सम्पत्ति रहेछ! कति ठूलो र सम्पन्न स्कुल! यति धेरै सम्पत्ति कुनै निजी स्कुलको भएको भए त कति धनी मानिन्थ्यो होला!’
म मामुको कुरा सुन्दै हिड्दै थिएँ।
त्यसपछि हामी त्रिभुवन त्रिशूली स्कुलको पुरानो भवन भएको ठाउँमा पुग्यौँ। पुरानो भवनसँगै नयाँ भवन पनि बनिरहेको थियो। त्यहाँ के पढाइ हुन्थ्यो भन्ने मलाई ठ्याक्कै थाहा थिएन। सायद माथिल्ला कक्षाहरू पढाइ हुन्थे होला।
अन्ततः हामीले बर्गर खाने भनेको चिया पापा रेस्टुरेन्ट आइपुग्यो।
हामीले त्यहाँ केही समय बितायौँ। मिठो बर्गर खायौँ र रमाइलो गर्यौँ। त्यसपछि त्रिशूली हाइड्रोपावरको सिल्ट ट्याङ्की भएको ठाउँतिरको बाटो हुँदै नयाँ त्रिशूली पुल पार गरेर विदुर फर्कियौँ।
त्यो दिन मेरो मन खुसी थियो। मामुसँग घुम्न पाएको थिएँ, आइसक्रिम खाएको थिएँ, राम मन्दिर दर्शन गरेको थिएँ र मनपर्ने बर्गर पनि खाएको थिएँ।
मलाई के थाहा, केही दिनपछि ती सबै ठाउँ र सम्झनाहरू यति धेरै पीडासँग जोडिनेछन् भनेर!
भदौ ९ गते: स्विमिङ पुलमा बिताएको रमाइलो समय
भदौ ८ गते मामुले मलाई आइसक्रिम र बर्गर खुवाएर खुसी पार्नुभएको थियो। तर स्विमिङ पुल जाने मेरो रहर भने हराएकै थिएन। त्यसैले भोलिपल्ट मैले फेरि मामुलाई सोधेँ, ‘मामु, आज त स्विमिङ पुल लैजानुहुन्छ नि?’
मेरो जिद्दीका अगाडि मामुले हार मान्नुभयो र भन्नुभयो, ‘ल, हुन्छ।’
मामुको अफिस सकिएपछि उहाँले मलाई स्कुटरमा राखेर स्विमिङ पुल लैजानुभयो। स्विमिङ पुल जाने बाटोमा त्रिशूली बजार पर्छ। बजारलाई देब्रे पारेर हामी स्कुटरमा स्विमिङ पुल तिर लाग्यौँ।
त्रिशूली हाइड्रोपावरको सिल्ट ट्याङ्की भएको ठाउँमा युनिक ईभरग्रिन फेमिली रेस्टुरेन्ट थियो। त्यहाँ स्विमिङ पुल पनि थियो। मामुले मलाई गल्छी–मैलुङ–रसुवागढी आयोजनाको बाटो हुँदै त्यहाँ पुर्याउनुभयो।
रेस्टुरेन्ट पुग्न त्रिशूली नदी पार गर्नुपर्ने रहेछ। त्यहाँ रहेको झोलुङ्गे पुल पार गरेर जानुपर्थ्यो। हामी पुल भएको ठाउँमा पुग्यौँ। मामुले स्कुटर वारिपट्टि नै पार्क गर्नुभयो।
त्यहाँको दृश्य निकै फरक थियो। रसुवागढी जानका लागि सयौँ कन्टेनर लाम लागेर बसेका थिए। कन्टेनरहरूको लाम यति लामो थियो कि स्कुटर पार्क गर्ने ठाउँ पाउन पनि हामीलाई मुस्किल परेको थियो।
त्यहाँको चहलपहल हेर्दै हामी स्विमिङ पुलतिर लाग्यौँ।
मैले स्विमिङ पुलमा करिब डेढ घण्टा बिताएँ। पानीमा खेल्न पाउँदा मलाई निकै रमाइलो लाग्यो। त्यहाँ एक जना दाइ हुनुहुन्थ्यो। उहाँले मेरो स्विमिङ रिङमा हावा भरिदिनुहुन्थ्यो। उहाँको हाँसो साह्रै मिठो थियो।
त्यहाँबाट हामी फर्कँदा त्रिशूलीको बेग हेर्दै फर्केका थियौँ। झोलुङ्गे पुलमा केही बेर उभिएर चिसो हावामा एकछिन भुल्यौँ। त्रिशूलीको बेग सामान्य थियो। नदी सामान्य थियो। न ठुलो आवाज निकालेको थियो। सधैँ झैँ समान गतीमा खोला बहिरहेको थियो। आज सम्झन्छु त्यो दिन त्रिशूली असामान्य छँदै थिएन।
भदौ १० गतेको बाढीको कुरा सम्झँदा मलाई युनिक ईभरग्रिन फेमिली रेस्टुरेन्टको याद आउँछ। त्यो हँसिलो दाइको याद आउँछ। उहाँ र युनिक फेमिली रेस्टुरेन्टका सबै सदस्यहरू सुरक्षित हुनुहुन्छ होला नि? म भगवान्सँग प्रार्थना गर्छु—उहाँहरू सबै सुरक्षित रहनुभएको होस्।
रसुवागढी जानका लागि लाम लागेर बसेका ती कन्टेनरका चालक र कर्मचारीहरूको पनि सम्झना आउँछ। बाढी आउँदा उहाँहरूले सुरक्षित ठाउँमा जान पाउनुभयो होला भन्ने आशा गर्छु।
स्विमिङ पुलमा रमाइलो गर्दागर्दै समय बितेको पत्तै भएन। घर फर्कँदा बेलुका साढे सात बजिसकेको थियो।
घर पुगेपछि खाना खाएँ। त्यसपछि गृहकार्य गरेँ। गृहकार्य सक्दासम्म निकै ढिलो भइसकेको थियो। त्यसैले म त्यो दिन अबेर सुत्न गएँ।
भदौ ८ र ९ गते मैले त्रिशूली बजारमा कति रमाइला पलहरू बिताएको थिएँ! मामुसँग पैदल हिँडेको, आइसक्रिम खाएको, राम मन्दिर दर्शन गरेको, चिया पापामा बर्गर खाएको अनि युनिक फेमिली रेस्टुरेन्टको स्विमिङ पुलमा खेलेको सम्झना मेरो मनमा ताजै छ।
भदौ १० गते त्यो दिनको विहान म अबेरसम्म सुतेको थिएँ। अघिल्लो रात गृहकार्य सकेर ढिलो सुतेकाले बिहान चाँडै उठ्न सकिनँ।
त्रिशूली बजार मेरा लागि अझै पनि ती रमाइला दिनहरूको सम्झना हो। त्यहाँका मानिसहरू, ती ठाउँहरू र मैले मामुसँग बिताएका ती साना-साना खुसीहरू म कहिल्यै बिर्सने छैन।
(श्राव्या पौडेल ईपिक किड्स वर्ल्ड बट्टार, नुवाकोटको कक्षा युकेजीमा अध्ययनरत विद्यार्थी हुन्।)