रसुवा र नुवाकोटमा भदौ १० गते गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नाडाले उपलब्ध गराएको राहत सामग्री जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरिएको छ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले शनिबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटसँगको समन्वयमा राहत सामग्री हस्तान्तरण गरेको हो।
यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रूपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै विभिन्न विपत्तिमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।