चिनियाँ मोटर कम्पनी जिलीले विद्युतीय सवारी साधन (इभी) मा प्रयोग हुने ब्याट्री पाँच मिनेटभन्दा कम समयमा उल्लेख्य रूपमा चार्ज गर्न सकिने प्रविधि विकास गरेको छ।
जिलीका अनुसार उसको नयाँ अल्ट्राफास्ट चार्जिङ प्रणालीले ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न ४ मिनेट ३० सेकेन्ड मात्र लिन्छ। त्यस्तै, १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न भने ८ मिनेट ४० सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ।
यसले चीनकै प्रमुख ब्याट्री उत्पादकहरू सिएटिएल र बिवाइडीसँगको तीव्र चार्जिङ प्रविधिको प्रतिस्पर्धालाई थप रोचक बनाएको फाइनान्सियल टाइम्सले जनाएको छ।
सिएटिएल विश्वकै सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता हो भने कार निर्माता बिवाइडी पनि प्रमुख खेलाडीका रूपमा स्थापित छ।
गत जुनमा बिवाइडीले आफ्नो पाँच मिनेटमा चार्ज हुने ‘फ्ल्यास चार्जिङ’ प्रविधि आगामी वर्षहरूमा आफ्ना मुख्य मोडलहरूमा विस्तार गर्न युरोपमा करिब दुई अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो।
ब्याट्रीमा आत्मनिर्भर बन्दै चिनियाँ कार निर्माता
जिलीको नयाँ घोषणा चिनियाँ कार निर्माता कम्पनीहरूले इभीको सबभन्दा महँगो तथा महत्वपूर्ण हिस्सा मानिने ब्याट्रीमा सिएटिएल माथिको निर्भरता घटाउन थालेको संकेतका रूपमा आएको छ।
जिलीबाहेक सरकारी स्वामित्वका चाङआन र एसएआइसीले पनि आफ्नै ब्याट्री अनुसन्धान तथा उत्पादनमा लगानी बढाइरहेका छन्।
नयाँ पुस्ताका प्रविधिमुखी इभी निर्माता सियाओमी र एक्सपेङले सिएटिएलसँगै अर्को चिनियाँ ब्याट्री निर्माता सिएएलबीबाट आपूर्ति बढाउने प्रयास गरिरहेका छन्। बिवाइडीको प्रमुख प्रतिस्पर्धी मानिने ली अटोले पनि तुलनात्मक रूपमा सानो ब्याट्री निर्माता सनवोडामा लगानी बढाएको छ।
चिनियाँ सञ्चारमाध्यमले कार निर्माता कम्पनीहरूको यस्तो रणनीतिलाई ‘डी–सिएटिएलाइजेसन’ भन्न थालेका छन्।
यसको अर्थ इभी निर्माता कम्पनीहरूले ब्याट्री आपूर्तिका लागि एउटै ठूलो कम्पनीमाथिको निर्भरता घटाएर वैकल्पिक आपूर्तिकर्ता र आफ्नै उत्पादन क्षमतामा जोड दिनु हो।
तर यसले सिएटिएलको बजार प्रभुत्व तत्काल कमजोर पार्नेमा विश्लेषकहरू विश्वस्त छैनन्।
रिस्टाडका ब्याट्री विश्लेषक चेन सानका अनुसार सिएटिएलको बजारमा रहेको स्थानलाई चुनौती दिन निकै कठिन छ।
रिस्टाडको तथ्यांकअनुसार विश्वभर स्थापना गरिएको लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री उत्पादन क्षमतामध्ये करिब ३८ प्रतिशत सिएटिएलसँग छ। दोस्रो ठूलो कम्पनी बिवाइडीले मुख्यतः आफ्नै विद्युतीय सवारीका लागि ब्याट्री उत्पादन गर्छ। इभी ब्याट्री बजारमा इभीई इनर्जी, सीएएलबी र गोसियनको हिस्सा प्रत्येकको करिब ७ प्रतिशत रहेको तथ्यांक छ।
चार्जिङ गति र रेन्जमा प्रतिस्पर्धा
जिलीले ब्याट्री प्रविधिको अनुसन्धान तथा विकासमा अर्बौं डलरको लगानी गर्ने संकेत पनि गरेको छ।
कम्पनीले ब्याट्री सेलको रसायन तथा उत्पादन प्रक्रियामा नयाँ प्रविधि विकास गर्दै चार्जिङ गति र सवारीको रेन्ज सुधार गर्ने लक्ष्य राखेको छ।
चीनका कार निर्माता कम्पनीहरूका लागि यस्तो लगानीको आवश्यकता घरेलु बजारमा बढ्दो लागत दबाबसँगै अझ महत्वपूर्ण बनेको छ।
अटोमोबिलिटी नामक सांघाईस्थित परामर्श कम्पनीका अनुसार यस वर्षको पहिलो आठ महिनामा चीनमा पेट्रोल कारको घरेलु बिक्री करिब एकतिहाइ घटेर ५९ लाख ५० हजारमा झरेको छ। ब्याट्रीबाट चल्ने विद्युतीय सवारी र प्लग–इन हाइब्रिड सहित इभीको बिक्री पनि १० प्रतिशत घटेर ७२ लाख २० हजारमा सीमित भएको छ।
तर चीनबाट हुने सवारी साधनको निर्यात भने बढिरहेको छ। जनवरीदेखि अगस्टसम्म चीनले ७१ लाख ५० हजार सवारीसाधन निर्यात गरेको छ। यो गत वर्षको पूरै अवधिमा भएको ७१ लाख निर्यातभन्दा बढी हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)