सल्यानका २५ वर्षीय रमेश वली घरपरिवारका साथ दसैं मनाउन छिमेकी देश भारतबाट घर फर्किँदै थिए।
रूपैडिहा नाका हुँदै बाँके छिरेका रमेश शनिबार बेलुकी अबेर मात्रै दाङको तुलसीपुर आइपुगेकाले तुलसीपुरमै बास बसे।
बिहान उठेर उनी बालबच्चाका लागि केही लत्ताकपडा र मिठाइ किन्न बजार छिरे। आइतबार बिहान पौने १० बजेतिर घर फर्किने उद्देश्यका साथ उनी तुलसीपुर बसपार्कस्थित काउन्टरमा आएका थिए।
ठिक त्यही बेला ध्वजापताकाले सिँगारिएका बसहरू बसपार्क छिरे। अघिअघि बाजागाजा बजाउनेहरू थिए। दसैंमा आउजाउ गर्ने यात्रुहरूको राम्रो उपस्थिति बसपार्कमा थियो।
बाजागाजा सहित लश्करै तीन वटा सजाइएका बसहरू बसपार्कभित्रै प्रवेश गरेपछि त्यसले सबैको ध्यान तान्यो। बसपार्कमा आउने जन्ती कसको रहेछ भन्दै धेरै सर्वसाधारण जन्ती हेर्न आएका बस र बाजागाजातर्फ लागे।
बाजा बजाउनेहरू अघिअघि पैदल हिँडिरहेका थिए भने उनीहरूका पछिपछि तीन वटा उस्तै देखिने बस बिस्तारै गुडिरहेका थिए।
जब काउन्टरनजिकै ती बसहरू आइपुगे, मोबाइलबाट भिडिओ खिचिरहेका रमेशले आश्चर्य भावमा त्यहाँ उपस्थित अन्यलाई सोधे, 'खै त जन्ती? बेहुला वा बेहुली खै?'
उनको प्रश्नपछि बस समितिमा काम गर्ने कर्मचारी रोहित न्यौपानेले हाँस्दै जबाफ दिए, 'यो कहाँ बिहे हो त? होइन नि। यो त नयाँ बस भित्र्याइएको हो। त्यसको स्वागतमा गरिएको तामझाम हो।'
त्यसपछि रमेशले भने, 'हैट, मैले त कसैको बिहे पो ठानेको थिएँ।'

रमेश मोबाइल बन्द गरी त्यहाँबाट हिँडे। नयाँ बस भित्र्याउँदा दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले गरेको 'रोड शो' ले धेरै सर्वसाधारण यात्रुहरू त्यसैगरी अलमलिएका थिए।
केही बेरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीको गाडी आइपुग्यो। काउन्टर भवनभित्रको खुला ठाउँमा नयाँ बस उदघाटन कार्यक्रम चल्यो।
प्रालिका अध्यक्ष घनश्याम बस्नेतले पछिल्लो समय आफ्नो प्रालिले भित्र्याएका तीन वटा बस सेवा सुविधाको दृष्टिले हालसम्म नेपालकै उत्कृष्टमध्ये भएको दाबी गरे।
'प्लेन चढ्न नपाएका सर्वसाधारण यात्रुलाई प्लेनको जस्तै सुविधा सडकमा गुड्ने गाडीमा दिऊँ भन्ने चाहना हो,' अध्यक्ष बस्नेतले भने, 'हाम्रा गाडीहरूमा प्लेनको जस्तै आरामदायी सिटहरू छन्।'
पिसाब गर्न मिल्ने शौचालय पनि क्याबिनमै भएको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले व्यवसायीले यात्रुको सुविधालाई विशेष ध्यान दिन सक्नुपर्ने बताए।
'सुन्दर बसले दिने सेवासमेत सुन्दर र विशिष्ट हुनुपर्छ,' उनले भने, 'लामो दुरीमा दुई जना चालक अनिवार्य राख्नुहोला र उहाँहरूको सहज पहिचानका लागि पोसाकको पनि व्यवस्था गर्न मेरो आग्रह छ।'


नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य भुवन भुसालले सबै यात्रुलाई समान व्यवहार गर्न आग्रह गरेका थिए।
स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दीपक बुढाथोकीले जति स्तरीय बसहरू भित्रिँदै गएकाले सोहीअनुरूप सेवाहरू पनि सुधार गर्दै लैजान सके मात्रै यातायात क्षेत्रको सम्मान तथा मर्यादा बढ्ने बताए।
प्रालिले हाल भित्र्याएका तीनवटा नयाँ बस 'डेलिशा– ५' नामका हुन्।
गाडीधनीमध्येका एक देवबहादुर बस्नेतका अनुसार आफूले एउटा बस किन्दा एक करोड १० लाख रूपैयाँजति खर्च लागेको बताए।
यी सुपर लक्जरियस बसमा १६ वटा सिंगल सिट छन्। पछाडि १९ वटा सिट डबल छन्। अशक्त वा बिरामी तथा दम्पतीका लागि पछाडि सुतेर यात्रा गर्न मिल्ने स्लिपर सिटहरू छन्।
एसी र एयर सस्पेन्सन भएका बसका हरेक सिटमा अक्सिजन मास्क उपलब्ध छ। बसमा प्राथमिक उपचार बाकस पनि छ। चालकको ठीक पछाडि शौचालय छ।
बसमा चालकलाई सचेत गराउने प्रविधि छ। गति धेरै भए चालकलाई कम्प्युटरले गति कम गर्न भन्छ र सुस्त भएको अवस्थामा बढाउन निर्देशन दिन्छ।
यसको ब्रेकिङ पनि राम्रो भएको सञ्चालकहरूको भनाइ छ।
यात्रुलाई कफी, चिया तथा तातो र चिसो पानीको सुविधा पनि दिने गरिएको गाडीधनी बस्नेतले बताए।
यी बसमा दाङ–काठमाडौं (करिब ४५० किलोमिटर दुरी यात्रा गर्दा) प्रतियात्रु दुई हजार पाँच सय रूपैयाँ भाडा लाग्छ।


२०६० सालमा स्थापना भएको अम्बिकेश्वरी प्रालिका अध्यक्ष बस्नेतका अनुसार हाल यो प्रालिसँग २९० वटा गाडी छन्।
लोकल रूटमा चल्ने करिब १०० वटा गाडी छन् भने अन्य गाडी बाहिरी जिल्लामा सञ्चालन हुन्छन्। यो प्रालिसँग रात्रिबसहरू 'मोनालिसा ४' चारवटा र 'डेलिशा–१' तीनवटा पहिल्यै थिए।
दसैंलगत्तै अहिलेका डेलिशा–५ जस्तै थप चारवटा बस भित्र्याउन लागेको प्रालिका पदाधिकारीले जानकारी दिएका छन्। त्यसबाहेक थप १४ वटा एसी बस छन्। त्यति नै संख्यामा दिवा सेवाका लागि काठमाडौं चल्ने हायसहरू पनि छन्।
यो प्रालिले सल्यान, रोल्पा, रूकुम, बाँकेको नेपालगन्ज, रूपन्देहीको भैरहवा लगायतका क्षेत्रमा पनि सेवा दिँदै आएको छ।