चिनियाँ अटोमोबाइल कम्पनी बिवाइडीको नयाँ एसयुभी 'टी–७' युरोपेली संघ (इयू) का मुलुकहरूमा बिक्री, आयात तथा उत्पादन गर्न अस्थायी प्रतिबन्ध लागेको छ।
युजी डिप्लोम्याटका अनुसार बेलायती सवारी निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) ले आफ्नो चर्चित मोडल ‘ल्यान्ड रोभर डिफेन्डर’ को डिजाइन नक्कल गरी बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको भन्दै दायर गरेको मुद्दामा नेदरल्यान्ड्सको द हेगस्थित जिल्ला अदालतले यस्तो अन्तरिम आदेश जारी गरेको हो।
शुक्रबार अदालतले सुनाएको प्रारम्भिक फैसला अनुसार बिवाइडीको टी–७ को बाहिरी बनोट र समग्र रूपरेखा ल्यान्ड रोभर डिफेन्डरको दर्ता भएको युरोपेली डिजाइनसँग मिल्दोजुल्दो देखिएको छ।
विशेषगरी गाडीको बक्स आकारको बनावट, गोलाकार काँध (राउन्डेड सोल्जर), चारपाटे ह्विल आर्च र पछाडिको झ्यालछेउको प्यानल डिफेन्डरसँग लगभग उस्तै रहेको अदालतको ठहर छ।
बिवाइडीले हेडलाइट, ग्रिल, बम्पर र बोनटको डिजाइन फरक रहेको जिकिर गरे पनि न्यायाधीशले ती भिन्नताहरू दुई गाडीलाई अलग पहिचान दिन पर्याप्त नभएको फैसला गरेका छन्।
मोटरवान डटकमका अनुसार अदालतको यो आदेश औपचारिक रूपमा तामेल भएको एक सातापछि इयूका सबै २७ सदस्य राष्ट्रमा लागू हुनेछ।
यससँगै बिवाइडीले हंगेरीको सेगेदमा निर्माणाधीन आफ्नो कारखानाबाट टी–७ उत्पादन गर्न पाउने छैन। आदेश उल्लंघन गरेमा बिवाइडीलाई दैनिक एक लाख युरो वा प्रतिगाडी २५ हजार युरोका दरले अधिकतम एक करोड युरोसम्म जरिवाना हुन सक्नेछ।
यद्यपि, युरोपेली संघबाट बाहिरिइसकेका कारण बेलायतमा भने यो प्रतिबन्ध लागू हुने छैन। बिवाइडीको बेलायती सहायक कम्पनीमाथि आफ्नो क्षेत्राधिकार नपुग्ने द हेग अदालतले स्पष्ट पारेको छ। जस कारण सन् २०२७ को जनवरीदेखि बेलायती बजारमा टी–७ डेलिभरी गर्ने बिवाइडीको योजना हाललाई यथावत् रहनेछ।
अटोइभोलुसनका अनुसार बिवाइडीले बेलायती बजारमा टी–७ को बिक्री सुरू गर्ने तयारी गरेको छ।
अदालतको फैसलाप्रति बिवाइडीले कडा असहमति जनाउँदै पुनरावेदनमा जाने घोषणा गरेको छ।
टी–७ पूर्ण रूपमा आफ्नै स्वतन्त्र डिजाइन प्रक्रियाबाट तयार पारिएको र यसले कसैको बौद्धिक सम्पत्ति अधिकार हनन नगरेको कम्पनीको दाबी छ। तर, पुनरावेदन प्रक्रिया चलिरहँदा पनि इयूको बिक्री प्रतिबन्ध भने कायम रहनेछ।
अर्कोतर्फ, जेएलआरले आफ्नो बौद्धिक सम्पत्तिको रक्षाका लागि आवश्यक कानुनी कदम चालिरहने प्रतिक्रिया दिएको छ।
यो अन्तरिम आदेशलाई निरन्तरता दिन जेएलआरले अबको ६ महिनाभित्र मुख्य मुद्दा दायर गर्नुपर्नेछ।
यसका साथै, रोटरड्यामस्थित अदालतमा जेएलआरले बिवाइडीविरूद्ध दायर गरेको प्रतिलिपि अधिकार सम्बन्धी अर्को छुट्टै मुद्दाको सुनुवाइ यही नोभेम्बर २५ मा हुँदैछ।