टिभिएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थालाई २५ वटा टिभिएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन्।
स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादन प्रभावकारी बनाउने र आवागमन सहज बनाउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई ५/५ वटा प्रदान गरिएको छ।
त्यस्तै, नुवाकोट केन्द्रीय कारागारलाई १, विदुर नगरपालिकालाई २, त्रिशूली अस्पताललाई १, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई १ र चण्डेश्वरी माध्यमिक विद्यालयलाई १ वटा मोटरसाइकल प्रदान गरिएको छ।
यसैगरी, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्दाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई एक/एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
यस पहलमार्फत टिभिएस र जगदम्बा मोटर्सले नुवाकोट तथा रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्।
स्थानीय संस्थाहरूलाई आवागमनका साधन उपलब्ध हुँदा उनीहरूले समुदायलाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा कम्पनीको छ।
यसले व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपाली समुदायको हित र विकासमा योगदान पुर्याउने टिभिएस तथा जगदम्बा मोटर्सको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ।
टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण बजार रहेको बताउँदै आफूहरूले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनुलाई पनि उत्तिकै महत्त्व दिएको बताए ।
उनले भने, 'नेपाल टिभिएस मोटर कम्पनीका लागि एक महत्त्वपूर्ण बजार हो। हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ। विभिन्न संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ।'
शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टिभिएस मोटर कम्पनीका दुई तथा तीनपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ।
यस सहकार्यमार्फत दुवै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तारसँगै स्थानीय समुदायको हितमा सहयोग गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएका छन्।