पूर्व गभर्नरहरुले व्यापार घाटा न्यूनीकरण हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्।
आयात व्यवस्थापन गरी आन्तरिक उत्पादन वृद्धिका उपायहरु अपनाई व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुको सुझाव छ।
व्यापार घाटा चुलिँदै जाँदा शोधनान्तर स्थितिमा चाप परेको र त्यसले समग्र बैंकिङ प्रणालीमा लगानीको अभाव देखिएको भन्दै उनीहरुले व्यापार घाटा न्यूनीकरणका उपाय तत्काल चाल्नुपर्नेमा जोड दिए।
व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निस्कनेगरी काम गर्नुपर्ने आवश्यकता टड्कारो भइसकेको पूर्व गभर्नरहरुले बताए।
राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्व सन्ध्यामा पूर्व गभर्नरहरु हिमालय शम्शेर जवरा, भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराईसँग छलफल गरेको हो।
छलफलमा उनीहरुले मर्जरलाई प्रभावकारी बनाउन र दीर्घकालीन रुपमा नकारात्मक असर नपर्नेगरी नीति निर्माण गर्न सुझाव दिए। वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरुको हीत संरक्षण गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न पूर्व गभर्नरहरुले सुझाएका छन्।
सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रमा वित्तीय श्रोत र साधनको प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएका छन्।