नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २४सै घण्टा एटिएम बुथमा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। सुरक्षा गार्डको व्यवस्था नै गरेर एटिएम बुथमा निगरानी बढाउन बैंकहरुलाई निर्देशन दिएको हो।
कुनै शंकास्पद रुपमा रकम झिकेको पाइएमा तुरुन्तै सम्बद्ध पदाधिकारीहरुलाई खवर गर्न राष्ट्र बैंकले भनेको छ।
‘एटिएम बुथ खुलेको अवधिसम्म सुरक्षा निगरानी गर्नु भनेका हौं,’ भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने। एटिएम बुथको निगरानी गरिरहेमा जोखिम धेरै हदसम्म घट्ने उनको भनाइ छ।
‘एउटै व्यक्ति एटिएम बुथमा आउजाउ भइरहने वा एउटै व्यक्तिले एकै पटक धेरै रकम झिकेको अवस्था देखिएमा वा धेरै समय बुथमा बिताएको अवस्थामा सुरक्षा गार्डले सम्बद्ध उच्च अधिकारीलाई जानकारी दिनुपर्छ’ उनले भने ‘यदी सुरक्षा सतर्कता अपनाइयो भने धेरै हदसम्म जोखिम कम हुन्छ।’
चाडपर्वका बेला बढी जोखिम हुने भएकाले पनि सतर्कता अपनाउनुपर्ने उनले बताए। यसअघिका प्रकरणमा पनि सुरक्षा सतर्कताकै कारण जोखिम बढ्न नपाएको उनले टिप्पणी गरे।
त्यस्तै साइबर आक्रमण, अनाधिकृत पहुँच वा संकास्पद गतिविधि भएमा तुरुन्तै राष्ट्र बैंकमा जानकारी गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली परीक्षणबाट प्राप्त कैफियत यथाशिघ्र सुधार गरी भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भनेको छ।
यसअघि भदौ १४ गते चिनियाँ ह्याकरले प्रणाली ह्याक गरी एटिएमबाट रकम चोरेका थिए। रकम चोरीमा संलग्न चिनियाँ पक्राउ परे पनि समस्या के हो भनेर अहिलेसम्म पहिचान भएको छैन।
समस्या पहिचान नभएकाले फेरि ह्याकरले अन्य व्यक्तिलाई प्रयोग गर्न सक्ने जोखिम देखिन्छ। अहिले पनि नेप्स स्वीचअन्तर्गत १८ बैंकका कार्डहोल्डरले अर्को बैंकको एटिएमबाट रकम झिक्न नपाएको अवस्था छ।
त्यस्तै गत आइतबार मात्रै कृषि विकास बैंकको प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण भएपछि बैंकिङ सुरक्षामा जोखिम देखिएको छ।
यो पनि हेर्नुहोस्
एटिएम ह्याकको समस्या पत्ता लागेन, जोखिम कायमै