साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा ठूलो गिरावट आउँदा सर्किट ब्रेक लागेको छ।
यस दिन ८० अंक अर्थात ६ प्रतिशतले नेप्से घटेको छ।
अघिल्ला दुई दिन उच्च वृद्धि हुँदा सर्किट लागेकोमा बिहीबार भने गिरावट हुँदा सर्किट लागेको हो। ६ प्रतिशतभन्दा बढीले बजार घटेमा वा बढेमा सर्किट लागेर त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ।
सो अंकको गिरावटसँगै परिसूचक १ हजार २ सय ५६ अंकमा कायम भएको छ।
यस दिन ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकिङ ८७, होटल १२८, विकास बैंक ७६, जलविद्युत ३४, निर्जीवन बीमा समूह १७८, उत्पादन १२८, अन्य ३१, माइक्रोफाइनान्स ७१, जीवन बीमा समूह ६०८ अंकले घटेका छन्। फाइनान्स भने १ अंकमुनि ऋणात्मक रह्यो।
यस दिन स्वाभिमान लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ भने गुराँस फाइनान्सको मूल्य ३. ८ प्रतिशतले बढेको छ। यस दिन सबैभन्दा बढी सोल्टी होटलको मूल्य १० प्रतिशतले घटेको छ।
प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंकको मूल्य ९ प्रतिशत बढीले घट्यो।
यस दिन नेपाल पुनर्बीमा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ६–६ करोड रुपैयाँ बराबरको कारोबार भयो।