सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ।
यस दिन नेप्से ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ पुगेको छ।
यस दिन २९३ वटा धितोपत्रको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार रावा इनर्जीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ३६४ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, गुहेश्वरी मर्चेण्टको सेयर मूल्य ७.२३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९८ रुपैयाँ ९० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा हिमालयन हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २६६ रुपैयाँमा सीमित भएको छ।
यस्तै, सिटी होटलको सेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९५ रुपैयाँ १० पैसामा झरेको छ।
सोमबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९६ रुपैयाँ १० पैसामा ३३ करोड १२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८९ रुपैयाँ ८० पैसामा २४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको हो।