बैंक नबिल बैंकले ३९औं वर्ष पूरा गरेको छ।
१२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको बताएको छ।
बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक 'नबिल बैंक सँगै अघि' भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ।
ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको बताएकाे छ।
३९औं वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए।
त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे।
कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाइ छ।
स्थापनाकाल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ छ।
दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए।
बैंकले २६४ शाखा र २९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।