अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयरधनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ।
दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरूलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरका हकप्रद सेयर निष्कासन गरिरहेको छ।
कम्पनीका संस्थापकहरू नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम सत प्रतिशत चुक्ता गरिसकेका छन्।
संस्थापकहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेछ।
मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताए।
गौतमले भने, 'संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइरहेको छ, सेयर भर्ने स्थानहरूमा व्यापक भीडभाड देखिएको छ। बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम संकलन हुने देखिएको छ।'
हकप्रद सेयर भर्ने अन्तिम दिन असोज २२ गते रहेको छ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर रहेको छ।
सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन्।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ।
सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेछ।
यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नु पर्नेछ।
हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।