सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
बाँडफाँटपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ। यसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।
उक्त आइपिओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकोमा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरूका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।