साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घटेको छ।
लगातार चार कारोबार दिन ७८.३५ अंकले घटेको नेप्से परिसूचक बुधबार भने ५.१६ अंकले बढेको थियो। तर, उक्त वृद्धि एकदिन पनि टिक्न सकेन।
बिहीबार नेप्से १.०६ प्रतिशतले घटेर १८७४.६० बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
गत कारोबार दिन १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ पुगेको छ।
यस दिन २९२ वटा धितोपत्रको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सिटी होटल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५८५ रुपैयाँमा झरेको छ।
यस्तै, बाराही हाइड्रोपावरको सेयरमूल्य ८.१९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१५ रुपैयाँमा सीमित भएको छ।
बिहीबार लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमा १६ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १७४ रुपैयाँ १० पैसामा ५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ प्रतिशतले घटेको हो।