लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरूद्ध अदालत जाने भएका छन्।
बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान लागेका हुन्।
बिहीबार लगानीकर्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो।
बिमा ऐन विपरीत यसरी प्रिमियममा आइपिओ जारी गर्न दिएकाले लगानीकर्ताहरू अदालत जाने निर्णय गरेको लगानीकर्ता तिलक कोइरालाले बताए।
'प्रचलित ऐन विपरीत प्रिमियममा आइपिओ जारी गर्न दिइएकाले सेबोन (धितोपत्र बोर्ड) अध्यक्ष रमेश हमाल र बिमा प्राधिकरणविरूद्ध अदालतमा मुद्दा हाल्ने निर्णय गरेका हौं,' लगानीकर्ता कोइरालाले भने, 'यो सरासर नीतिगत भष्ट्राचार हो।'
बिमा ऐन २०७९ को दफा ४५ को ५ मा 'बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ' भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रूपैयाँ मूल्यलाई अंकित मूल्य भनिन्छ।
यही व्यवस्थालाई देखाउँदै लगानीकर्ताहरू अदालत जाने बताएका हुन्।