लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
बोर्ड र प्राधिकरणले ऐन विपरीत बीमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरूले शुक्रबार बिहान अख्तियारमा उजुरी दिएका हुन्।
बीमा ऐन २०७९ को दफा ४५ को ५ मा ‘बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रूपैयाँ मूल्यलाई अंकित मूल्य भनिन्छ।
यही व्यवस्थालाई देखाउँदै लगानीकर्ताहरूले उजुरी हालेका हुन्। लगानीकर्ताहरूले सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई यसरी नियम विपरीत प्रिमियम मूल्यमा सेयर जारी गर्न दिइएको उजुरीमा उल्लेख गरेका छन्।
हिमालयन रि इन्स्योरेन्समा पनि यसरी प्रिमियम मूल्यमा जारी दिने गरी तयारी भइरहेको भन्दै लगानीकर्ताहरूले यसलाई समेत रोक्न माग गरेका छन्। उनीहरूले घोराही सिमेन्टमा समेत नीतिगत भष्ट्राचार भएकोले छानबिन गर्न माग गरेका हुन्।