साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २१.४६ अंकले घटेको छ।
यसदिन नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँ पुगेको छ।
यस दिन २८९ वटा धितोपत्रको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार एनआइसी एशिया लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१४ रुपैयाँ पुगेको छ।
यस्तै, तारागाउँ रिजेन्सीको सेयरमूल्य ५.४७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ७११.९० रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५६७ रुपैयाँमा झरेको छ।
यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ७.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३८६ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
आइतबार नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३०७ रुपैयाँ २० पैसामा ४ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २०१ रुपैयाँमा ३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले घटेको छ।