तिहारपछि खुलेको सेयर बजार बढ्ने प्रयासमा देखिएको छ। कारोबार खुल्ने बित्तिकै बढेको बजार त्यसपछि उतारचढावमा देखियो। बजार बन्द हुँदा नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ।
बैंकहरूले मंसिरको लागि निक्षेपको ब्याजदर घटाएपछि पनि यसको प्रभाव बजारमा देखिएको हो। निक्षेपको ब्याजदर घट्दा बजार बढ्छ भने ब्याजदर बढ्दा बजार घट्छ।
बैंकहरूको कर्जाको ब्याजदर समेत घट्न थालेपछि यसको पनि प्रभाव बजारमा देखिएको हो।अहिले कर्जा विस्तारमा सुस्तदरमा सुधार हुन थालेसँगै सेयर धितोमा जाने कर्जामा पनि वृद्धि भइरहेको छ।
यससँगै तिहारअघि धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन लागेको समेत खबर बाहिरीएको थियो। यिनै विविध सकारात्मक खबरको कारण बजार बढ्न टेवा पुगेको हो।
सोमबार अझै पनि लगानीकर्ताहरू पर्ख र हेर कै अवस्थामा देखिए। यही कारण सेयर बजार परिसूचकले स्पष्ट दिशा लिन सकेन। १२ कारोबार दिनपछि बजारमा कारोबार रकम समेत एक अर्ब पुगेको छ।
सोमबार एक अर्ब नौं करोड रूपैयाँको सेयर कारोबार भएको छ। तिहारअघिको अन्तिम कारोबारमा कारोबार रकम ८३ करोड थियो। कारोबार रकम ३१ प्रतिशतले बढेको हो। २८४ वटा सेयर कारोबार भएकोमा १४१ वटाको मूल्य बढेर र १२९ वटाको मूल्य घटेर किनबेच भएको छ।
हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ७ करोड ३६ लाख रकमको कारोबार भएको छ। ग्लोबल आइएमइ लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत हाराहारी बढेको छ।
फर्वाड लघुवित्त र सयपत्री हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा घटेको छ। यसदिन होटल,उत्पादनमुलक, लघुवित्त र अन्य समूहगत परिसूचक घटेका छन्। बाँकी सबै समूहगत परिसूचक बढेका छन्।