मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर २२ गतेसम्म लम्बिनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।
कम्पनीलाई क्रेडिट रेटिङ इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।