सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक करोड ९९ लाख रूपैयाँ विगो माग दाबी गर्दै कात्तिक २३ मा न्यौपाने विरुद्धको मुद्दा दर्ता गरेको हो।
कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद–बिक्री गरेर गैरकानुनी लाभ लिएको आरोपमा विभागले मुद्दा दायर गरेको हो।
रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।
यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।