उन्नति सहकार्य लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर पाएका छन्।
जसमध्ये १ जनाले ११ कित्ता र अर्को १ जनाले १०.१८ कित्ता सेयर पाएका हुन् बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त एफपिओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकोमा ३२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।
योग्य १० लाख ७२ हजार ४४३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।
कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म उक्त एफपिओ बिक्री गरेको थियो।
कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपिओ बिक्री गरेको हो।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पुँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।
कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र 'मेरो सेयर' एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।