लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न नेशनल पेमेन्ट स्विच एनपिएसमा आबद्ध भएको छ।
यसका लागि लिवर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापछि लिवर्टी माइक्रो लाइफ एनपिएसमा आबद्ध पाँचौ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ यस अन्तर्गत लिवर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस एनपिआइसँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछ।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपिएस अन्तर्गतका विभिन्न उपकरणहरू सञ्चालनमा रहेका छन्।
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स जनवरी २०२३ मा नेपालको ग्रामीण क्षेत्रहरूमा बीमासम्बन्धी सेवाहरूको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने, सीमान्तकृत समुदायलाई बीमासम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको एक पब्लिक लिमिटेड कम्पनी हो।
लिवर्टी माइक्रो लाइफले आफ्नो सेवा प्रवाह सुधार गर्न विभिन्न डिजिटल च्यानलहरू अपनाइरहेको छ र एनसीएचएलसँगको यस सहकार्यले लिवर्टी माइक्रो लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरू सुरू गर्न पनि थप मद्दत पुग्ने विश्वास गरिएको छ।