शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङग्सले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ।
जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको एक करोड १६ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
शिवम् होल्डिङग्सका सञ्चालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता गरेको छ।
उक्त सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङग्स २०७१ सालमा कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनी हो।
यो कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिङ्कर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरी करिब १२ मेगावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको छ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड शेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।
यस कम्पनीका संस्थापकहरूमा शिवम् सिमेन्ट्सको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरूको व्यक्तिगत करिब १५ प्रतिशत सेयर लगानी रहेको छ।