सात कारोबार दिनपछि नेप्से परिसूचक झिनो अंकले बढेको छ।
यस दिन नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
गत कारोबार दिन १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रूपैयाँमा सीमित भएको छ।
यस दिन २९३ वटा धितोपत्रको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८५८ रूपैयाँ पुगेको छ।
यस्तै, विजय लघुवित्त सेयरको मूल्य ८.०७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१६ रूपैयाँ पुगेको छ।
बुधबार सिंगटी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयर मूल्य २४९ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
यस्तै, सनराइज ब्ल्यूचीप फण्डको इकाइ मूल्य ५.७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रूपैयाँ ४० पैसा कायम भएको छ।
बुधबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४८८ रूपैयाँ १० पैसामा ७ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०४ रूपैयाँमा ७ करोड ३० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ।