राष्ट्र बैंकले अहिले मुलुकको अर्थतन्त्र शिथिल हुनुका पछाडि मुख्य तीन कारण रहेको औंल्याएको छ।
राष्ट्र बैंकका अनुसार अहिले निर्माण क्षेत्रमा माग कम हुँदा यस्ता उद्योगहरूको उत्पादन ३५ देखि ४० प्रतिशतमा सीमित भएकोले पनि अर्थतन्त्रमा शिथिलता देखिएको हो।
'नेपालका ठूला उद्योगहरू भनेकै निर्माण क्षेत्रमा आधारित उद्योग छन्,' गभर्नर महाप्रसाद अधिकारीले भने, 'निर्माण क्षेत्रमा संकुचन आएको कारण पनि अर्थतन्त्र चलायमान हुन नसकेको हो।'
अधिकारीले अर्थ समितिमा बुधबार भएको बैठकमा संसदहरूले सोधेको प्रश्नमा जवाफ दिँदै यस्तो बताएका हुन्।
अहिले दुर्गा प्रसाई लगायतको आन्दोलनले पनि सामाजिक तनाव उत्पन्न गरेको र बैंकहरूले समेत कर्जा लगानी गर्न डराउनु परेकोले पनि समस्या आएको राष्ट्र बैंकको बुझाइ छ।
त्यस्तै, सहकारी क्षेत्रमा समस्या आएको कारण पनि यसको प्रभाव साना तथा मझौला क्षेत्रमा परेकोले पनि प्रभाव ठूलो देखिएको गभर्नर अधिकारीले बताएका छन्।
'सरकारले सहकारीलाई तीन खम्बे अर्थनीतिभित्र राख्यो, धेरै सर्वसाधारणले समेत यसलाई पत्याए तर आवश्यक नियमन नहुँदा समस्यामा पर्यो,' अधिकारीले भने, 'यही कारण पनि साना तथा मझौला क्षेत्रमा पुँजी स्रोतको रुपमा रहेका सहकारीमा समस्या आउँदा यसको ठूलो प्रभाव परेको हो।'
उनले सहकारी नियमनको लागि राष्ट्र बैंक सदैव तयार रहेको र यसको नियमनको लागि बनाइने दोस्रो तहको संरचना निर्माणमा आफ्नो पूर्ण सहयोग रहने समेत स्पष्ट पारे।
गभर्नरले राष्ट्र बैंकबाट अनुमति प्राप्त लघुवित्त कम्पनीहरूबाट समेत ३३ लाख सर्वसाधारणले कर्जा पाइरहेकोले बैंकिङ पहुँच नपुगेको भन्न नमिल्ने समेत बताए।
राष्ट्र बैंकले अहिले व्यवसाय सञ्चालनको प्रकृति फेरिएको तर सोही अनुसार व्यवसायीले रणनीति बनाउन नसक्दा पनि सटर र भाडाका पसलमा राखिएका व्यवसाय समस्यामा परेको समेत दाबी गरेको छ।
अहिले पनि भाटभटेनी, बिगमार्ट लगायतको व्यापार बढेको, यिनीहरूले सञ्जाल विस्तार गरिरहेको उदाहरण समेत दिए। त्यस्तै, अनलाइन कारोबार बढेकोले पनि भाडा तथा सटरहरूमा व्यापार कम भइरहेको आँकलन राष्ट्र बैंकको छ।
मुलुकबाट धेरै युवा विदेशिएकाले पनि मागमा स्वतः कमी आएको राष्ट्र बैंकले उल्लेख गरेको छ।