नेपाल लाइफ इन्स्योरेन्सले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड दाबी भुक्तानी गरेको छ।
यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५ अर्ब ६८ करोड परिपक्व दाबी भुक्तानी बापत १९ अर्ब ७८ करोड र अग्रिम दाबी भुक्तानी बापत २३ अर्ब ४४ करोड दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ।
नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा १३ हजार ५१२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ।
कम्पनीले कन्भेन्सनल प्लानअन्तर्गत ११ हजार १७७ जनालाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ।
यस कम्पनीले आफ्नो दाबी प्रक्रियालाई सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुने वित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ। यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फर्छ्यौट भई सकेको कम्पनीले जनाएको छ।
सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ।
यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ। यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र कम्पनीले गरेको छ।
कम्पनी १०० प्रतिशत दाबी यथाशीघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ।