सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।
योसँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से ९२.७३ अंकले बढेको छ।
नेप्से १९४५.५१ बिन्दुमा आएको छ। त्यस्तै, २९ करोड रूपैयाँको कारोबार भएको छ। यसअघि बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ।
राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो। यो निर्णयको कारण बजारमा थय ४० देखि ५० अर्ब रूपैयाँ कर्जा लगानीको लागि निस्किने गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए।