दुई वर्षपछि नेप्से परिसूचक एकै दिन उच्च अंकले बढेको छ।
आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो।
१२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ। चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा हुने कारोबार यस दिन जम्मा ७ मिनेट कारोबार हुन पायो।
नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो। आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो।
बजार खुले देखिनै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो। बजार खुलेको ५ मिनटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ।
राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो। यो निर्णयको कारण बजारमा थय ४० देखि ५० अर्ब रूपैयाँ कर्जा लगानीको लागि निस्किने गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए।
आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। आइतबार बजारमा नौ मिनेट मात्रै कारोबार भएकोले अघिल्लो दिनकोभन्दा कम रकमको कारोबार भएको हो। अघिल्लो दिन एक अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचकमा वृद्धि भएको छ। जलविद्युत समूहगत परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ। होटेल, वित्त र विकास बैंक, लगानी समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबारमा आएको ६ कम्पनीहरूको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ। रिलायन्स फाइनान्स, जोशी जलविद्युत, राप्ति हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन, इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढेको हो।
यसदिन २ सय ४४ वटाको कारोबार भएकोमा २ सय ३३ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ।