धितोपत्र बोर्डले सेयरको सार्वजनिक निष्कासन आइपिओमा हाल आवेदकलाई पुगेसम्म १० कित्ता सेयर दिनैपर्ने नीतिको पुनरावलोकन गर्ने भएको छ।
यसको लागि बोर्डले सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आइक्यान) का उपाध्यक्ष प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ।
समितिमा मुक्तिनाथ श्रेष्ठ, अम्बिका प्रसाद गिरी र भोलानाथ ढुंगाना रहेका छन्।
यसअघिका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले सेयर बजार विस्तारको लागि भन्दै आइपिओमा आवेदन दिनेलाई पुगेसम्म कम्तीमा १० कित्ता सेयर दिनैपर्ने नीति अभ्यासमा ल्याएका थिए।
त्यसअघि न्यूनतम ५० कित्ताभन्दा कमको लागि सेयरमा आवेदन नै दिन नपाइने व्यवस्था थियो।
हालका अध्यक्ष रमेश हमालले १० कित्ताको नीति हटाएर आवेदनको लागि न्यूनतम २ सय ५० कित्ता दिन सकिने व्यवस्था अभ्यासमा ल्याउने बताउँदै आएका छन्। यद्यपी त्यसअघि यसको पुनरावलोकन गर्न समिति बनाइएको हो।
सेयर जोखिम सहितको क्षेत्र भएकोले यसमा सबैको पहुँच हुनैपर्ने भन्ने व्यवस्था व्यवहारिक नभएको कतिपयको तर्क छ।
तर, केहीले भने यो १० कित्ता नीतिको कारण सेयर बजारमा विद्यार्थी र गृहणीले समेत प्रवेश गर्ने वातावरण बनेकोले यसलाई कायम राख्नुपर्ने तर्क गर्दै आएका छन्।