तीन महिनापछि नेप्से परिसूचक २ हजार बिन्दु माथि आइपुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो। असोज १० गते यता २ हजार बिन्दु मुनि रहेको नेप्से त्यसयता पहिलो पटक २ हजार बिन्दु माथि उक्लिएको हो।
कारोबार रकम पनि साढे ५ महिना यतकै उच्च भएको छ। आइतबार बजारमा पाँच अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत असार १३ गते ५ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको थियो। आइतबार कारोबार भएको रकम त्यसयताकै उच्च हो।
बैंकहरूले कर्जाको ब्याजदर घटाइरहेको कारण कर्जाको ब्याजदर समेत घट्न थालेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमाशिक समिक्षामा नीतिगत ब्याजदर घटाएसँगै बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउने दबाब परेको थियो।
आन्तरिक मागमा सुधार हुँदै गएको कारण आयातमा समेत सुधार हुन लागि रहेको देखिएको छ। घरजग्गाको कारोबारमा पनि सुधार भइरहेको छ। बजार चलायमान हुन थालेकोको पनि सेयर बजारमा प्रभाव परेको हो।
आइतबार दुई सय ९५ वटाको सेयर तथा ऋणपत्र कारोबार भएकोमा दुई सय २६ वटाको सेयर मूल्य बढेको छ। ७३ वटाको मूल्य घटेको छ।
सेयर प्रिमियम रकमको आधारमा कर बुझाएको कारण लाभांश क्षमता घट्ने भएपछि वाणिज्य बैंकहरूको कारोबार सूचक भने घटेको छ। बैंकिङ समूहको सूचक ८ अंकले घटेको हो। सामूहिक लगानी कोष र व्यापार मुलक समूहगत परिसूचक पनि घटेको छ।
सबैभन्दा धेरै जलविद्युत समूहगत परिसूचक वृद्धि भएको छ। यो समूहगत परिसूचक ५.५५ प्रतिशत (१२३ अंक)ले बढेको हो।
आज १२ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। १० प्रतिशतले मूल्य बढ्ने १२ कम्पनीमा १० वटा जलविद्युत कम्पनी रहेका छन्।
सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पनि हाइड्रोपावर कम्पनी छ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको हो। यो कम्पनीको मात्रै २५ करोड रूपैयाँको कारोबार भएको छ।