ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्य र नव-निर्वाचित सञ्चालक समितिको पहिलो बैंठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिटेन्स सेवा प्रदान गर्ने सानो कम्पनीको रूपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति-निर्देशन अनुसार काम गर्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताए।
बैंकलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्याएको सहयोगबारे स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए।
ढकालले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको सपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै सपथ गराएका छन्।
ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
सपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति थियो।